समाज

स्पेनको कोथेरेस र नेपालको कपिलवस्तुबीच भगिनी सम्बन्ध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १३ गते २०:४४
स्पेनको कोथेरेस र नेपालको कपिलवस्तुबीच भगिनी सम्बन्ध (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ कपिलवस्तु। कपिलवस्तु, रुपन्देही र नवलपरासीका ४ नगर तथा स्पेनको कोथेरेस नगरपालिका, कोथेरेस प्रादेशिक सरकार, संस्कृति पर्यटन तथा खेलकुद मन्त्रालय एक्स्त्रेमादुरा प्रदेश सरकारबीच भगिनी सम्बन्धका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

कपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र स्पेनको एक्स्त्रेमादुराकी सभामुख ब्लाङ्का मार्टिन डेलाग्डोको रोहवरमा हस्ताक्षर गरिएको हो ।

दुई देशको प्रदेश सरकार र नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरी लुम्बिनी क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र बातावरणमा सहयोग पुर्याउने उद्धेश्यका साथ समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा स्पेनको एक्स्त्रेमादुरा प्रदेश सरकारकी संस्कृतिमन्त्री नुरिया फ्लोरेस रेडोन्डो, कोथेरेस नगरपालिकाका मेयर लुईस साल्या जुलियन र कोथेरेस अञ्चल सरकारका अध्यक्ष कार्लोस रोड्रिग्वेजले हस्ताक्षर गरेका थिए ।

त्यसैगरी नेपालको तर्फबाट कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले हस्ताक्षर गरे ।

समझदारी पत्रमा समन्वयकारी संस्था लुम्बिनी गार्डेन फाउण्डेसन स्पेनका अध्यक्ष जोस म्यानुयल भिलेनोभा साक्षी बसेका थिए । कार्यक्रममा सहभागीले यो समझदारीले दुई देश बीचको आपसी हितलाई प्रगाढ बनाउने बताए ।

कार्यक्रममा सहभागी स्पेनका प्रतिनधिलाई बुद्धस्थल कपिलवस्तु दरबार क्षेत्रको पुरानो ईटाको दर्शन गराइको थियो । त्यसैगरी नेपाल आएको टोलीले बुद्धस्थल कपिलवस्तुको अवलोकन समेत गरेको थियो ।

सिद्धार्थ गौतमको जन्मभूमि कपिलवस्तुको विकासका लागि स्पेनको नगर र प्रदेशसँग स्थापित भगिनी सम्बन्धले सहयोग पुर्याउने कपिलवस्तु नगरपालिकाका प्रमुखको अपेक्षा थियो ।

स्पेनको प्रदेश सरकार, अञ्चल सरकार र नगरसँगको समझदारीले लुम्बिनी सहितका बुद्धस्थलको विकासमा टेवा पुग्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

फाउण्डेशनको पहलमा स्पेनमा लुम्बिनी गार्डेन निर्माण गरी ६६ मिटर अग्लो बुद्ध मुर्ति राख्ने तयारी गरिएको छ । त्यसैगरी फाण्डेसनले नेपाल सरकारलाई उपलब्ध गराएको १ दशमलव ९ मिटर अग्लो मूल्यवान बुद्धमूर्ति गौतम बुद्ध विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनावरण गराइँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *