समाज

बाँकेमा वन अतिक्रमण यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १३ गते १८:२७
बाँकेमा वन अतिक्रमण यसरी बढ्दै (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ बाँके । प्राकृतिक विपद र राजनीतिक दाउपेचका कारण बाँकेमा वन अतिक्रमण बढ्दै गएको छ । गरिब, विपन्न र भूमिहीन समुदायका नागरिक राजमार्ग आसपास तथा नदी किनाराको वन अतिक्रमण गरेर बस्दै आएका छन् । यसले गर्दा वनको क्षेत्रफल घट्दै गएको छ ।

यो बाँकेका बाढी पीडित र सुकुम्बासी बस्दै आएको बस्ती हो । यो बस्ती कुनै निजी जमिनमा हैन । वनको जमिनमा बसेको छ । हुन त, वन अतिक्रमण गर्नु उनीहरुको बाध्यता हो, रहर होइन । वन क्षेत्र अतिक्रमण गरेर बसेका गरिब, विपन्न र भूमिहीन समुदायका नागरिकले कष्टपूर्ण अवस्थामै जीवन बिताइरहेका छन् ।

वन क्षेत्र अतिक्रमण गरेर बसेका भूमिहीन सुकुम्बासीले सरकारले वैकल्पिक व्यवस्था नगरेका कारण जंगल क्षेत्रमा कष्टपूर्ण अवस्थामा बस्न विवश छन् । राप्ती नदीको किनारामा बसोबास गर्ने बाढी प्रभावितको पुनर्स्थापना भएको छैन । त्यसैले बाढी र डुबानको उच्च जोखिममा रहेका परिवारले वन अतिक्रमण गरेर घर टहरा बनाउने र जंगल फडानी गरेर खेतीपाती गर्दै आएका छन् ।

राप्ती नदीको कटान र डुबानको उच्च जोखिममा रहेका होलिया फत्तेपुर, मटेहिया र गंगापुर क्षेत्रका बासिन्दा वन क्षेत्रमा घर टहरा बनाएर बसेका छन । वन अतिक्रमण गरी बसोबास गरेकालाई प्रहरी प्रशासनको सहयोगमा जिल्ला वन कार्यालयले बेलाबेलामा हटाउने गरेको छ ।

वन कार्यालयले हटाउने र स्थानीय बासिन्दाले वन अतिक्रमण गर्ने क्रम चलि नै रहेको छ । बाढीबाट बिचल्लीमा परेका केही परिवारलाई केही समयका लागि मानवीय हिसाबले सामुदायिक वनमा बस्न दिए पनि बाढी पीडितको नाममा वन अतिक्रमण हुने क्रम बढ्दै गएको छ ।

बाँकेमा करिब ६ सय हेक्टर वन क्षेत्र अतिक्रमण गरी करिब ४ हजार घर टहरा निर्माण भएको डिभिजन वन कार्यालय बाँकेको तथ्यांकछ ।

सरकारले वनले ढाकेको क्षेत्रफल ४० प्रतिशत कायम राख्ने प्रतिबद्धता बारम्बार जनाउँलै आए पनि सुकुम्बासी, बाढी प्रभावित, मुक्त कमैया लगायत नाममा वन अतिक्रमण गर्ने क्रम कायमै छ । वन क्षेत्रमा भइरहेको अतिक्रमण रोक्नेतर्फ प्रभावकारी रुपमा काम नहुँदा वनले ढाकेको क्षेत्र बर्षेनी घट्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *