समाज

२० महिनापछि खुल्यो नाका, स्थानीय र व्यापारी खुशी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १३ गते १६:२८
२० महिनापछि खुल्यो नाका, स्थानीय र व्यापारी खुशी (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०७८ काठमाडौं । कोरोना संक्रमणका कारण करिब २० महिना बन्द गरिएको झापाको भद्रपुर सीमा नाका खुलेको छ । भद्रपुर–गलगलिया सीमा नेपाल सरकारले एक महिनाअघि खुला गर्ने निर्णय गरेको थियो ।

तर, सीमामा तैनाथ भारतीय एसएसबीले माथिको आदेश नआएको भन्दै सो सीमा नाका बन्द राखेका थिए । लामो समयपछि अहिले नाका खुलेपछि स्थानीय र व्यापारी खुशी भएका छन् ।

झापाको भद्रपुर–गलगलिया सीमा नाका करिब २० महिनापछि सञ्चालनमा आएको छ । कोरोना भाइरस महामारीले लामो समयदेखि बन्द रहेको नाका खोल्न भारतीय सीमा सुरक्षा बल एसएसबी सहमत भएपछि नाकाबाट आवतजावत खुल्ला गरिएको हो । नाका संचालनमा आएपछि स्थानीय बासिन्दा खुशी छन् ।

एसएसबीले डबल खोप लगाएका व्यक्तिलाई खोप कार्ड वा ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट र नेपाली नागरिकताको आधारमा भारत प्रवेश गर्ने अनुमति दिएको छ ।

सीमा हेल्थ डेस्क राखेर पैदलयात्रीलाई मात्र प्रवेश गर्न अनुमति दिइएको छ । मानिसको आवतजावत खुला गरिए पनि दुई पाङग्रे र चार पाङग्रे सवारीसाधनमाथिको प्रतिबन्ध भने कायमै छ । मालवाहक सवारी साधनलाई पनि सञ्चालन अनुमति दिइएको छ । योसँगै लामो समयदेखि गुमेको राजश्व संकलन फेरी शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले गत असोज १५ गते जिल्लाका सबै नाका खोल्ने निर्णय गरेको थियो । असोज १६ गते नै भद्रपुर सीमा नाकामा हेल्थ डेस्क राख्न भद्रपुर नगरपालिका तयार भइसकेको थियो । तर, भारतीय पक्षले नमानेपछि सीमा हेल्थ डेस्क त्यस बेला राखिएन । तर ढिलै भए पनि नाका सञ्चालनमा आउनु सकरात्मक हो ।

सरकारले भद्रपुर नाकामा ३७ करोड रुपैयाँको लागतमा मेची पुल बनाएको छ । कोरोना महामारीका कारण लामो समयदेखि सीमा नाका सञ्चालनमा नआउँदा यहाँका जनताले मेची पुलको उपयोग गर्नबाट पनि वञ्चित हुनु परेको थियो ।

नाका सञ्चालन हुँदा आवतजावतमा स्थानीयबासिन्दालाई सहज त भएको छ नै, सामानको आयातनिर्यातका कारण राजश्व संकलन सामान्य भइ अर्थतन्त्रमा समेत मद्दत पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *