आर्थिक

खानु भएको छ भक्का ? खाजाका रुपमा यसरी हुँदैछ लोकप्रिय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १० गते १७:५५
खानु भएको छ भक्का ? खाजाका रुपमा यसरी हुँदैछ लोकप्रिय (भिडियो रिपोर्टसहित)

१० कात्तिक २०७८ झापा । झापाको राजवंशी समुदायमा छोरीको विवाहपछि कोसेलीका रूपमा पठाउने परिकार हो भक्का। तर पछिल्लो एक दशकयता भक्का झापामा लोकप्रिय खाजाको रुपमा स्थापित हुँदै गएको छ । जाडो मौसम सुरुवातसँगै भक्काको व्यापार सुरु हुन्छ । बिहान र साँझ झापाको सडक वरपर भक्का खानेको भीड लाग्न थालेको छ ।

भक्का खान आउनेहरुलाई न कुर्सी चाहिन्छ न बस्ने स्थान । केही उठेर भक्का खाइरहेका हुन्छन भने केही मुडामै बसेर भक्काको स्वाद लिन्छन् ।

झापाको विर्तामोडमा बिहान र साँझ भक्का खानेहरुको भीड लाग्ने गरेको छ । चामलको पिठोलाई बाफमा पकाएर स्वादिलो भक्का तयार गरिन्छ ।

स्वास्थ्यका हिसाबले राम्रो तथा अन्य खाजाको तुलनामा सस्तो र स्वादिलोसमेत हुने भएकाले भक्कामा आकर्षण बढेको हो । अन्य स्थानबाट झापा घुम्न जानेका लागि पनि भक्का विशेष परिकारका रुपमा चिनाइने गरिन्छ ।

भक्काको सुरुवाती व्यापार झापाका राजवंशी समुदायले गर्ने गरेको भए पनि अहिले अन्य समुदाय पनि यो व्यापारतर्फ आकर्षित भएका छन् । झापा, मोरङ र सुनसरीलगायतका पूर्वी नेपालका जिल्लाहरूमा भक्का प्रचलित हुँदै गएको छ ।

भक्काको लोकप्रियता र पारखीहरु बढेसँगै काठमाडौंलगायत मुख्य शहरहरुका केही स्थानमा पनि भक्काको व्यपार सुरु भएको छ । अझ अहिले भक्कामा विशेष स्वादहरु जोडेर पनि विक्री हुने गरेको छ ।

स्वास्थ्यमा पनि कुनै हानी नगर्ने र कम मूल्यमा खाजा नास्ताकै काम गर्ने भएकाले पनि नुन, खुर्सानी, धनिया र गोलभेँडाको अचारमा चोपेर भक्का खान जुनसुकै उमेरका समूहका मानिस चोकचोकमा पुग्ने गरेका छन् ।

विशेषगरी जाडोयाममा भक्काको व्यापार राम्रो हुने व्यवसायी बताउँछन् । भक्काको व्यापारबाट राम्रो आम्दानी समेत हुने गरेको छ । स्वास्थ्यवर्धक यो खाना मम चाउमिनको विकल्प हुनसक्छ । यसलाई पूर्वमा मात्र सीमित नराखी प्रववर्द्धन गर्न सके नेपालभरी यसको व्यापार बढाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *