खेलकूद

हरेक पटक मन्त्री फेरिँदा किन आश्वासन मात्र पाउँछन् खेलाडीहरु ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ९ गते २०:५७
हरेक पटक मन्त्री फेरिँदा किन आश्वासन मात्र पाउँछन् खेलाडीहरु ? (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७८ काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई खेलको हकहित सम्बोधनका लागि ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा आज संघले मन्त्री गहतराजलाई विभिन्न ८ बुँदे माग समेट्दै ज्ञापनपत्र बुझाएको हो । प्रत्येक चोटी मन्त्री फेरिँदा आश्वासन मात्र पाएका खेलाडीहरु यस पटक भने माग सम्बोधन हुनेमा विश्वस्त छन् ।

गत महिना मात्र जिम्मेवारी सम्हालेका युवा तथा खेलकुद मन्त्री गहतराजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीको हकहितका विविध माग राख्दै ध्यानाकर्षण गराएका छन् ।

संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा मन्त्रालय गएको टोलीले अघिल्ला खेलकुद मन्त्रीलाई जस्तै आफ्ना मागहरु सहितको ज्ञापन पत्र बुझाए । संघले यस पटक नवौं राष्ट्रिय खेलकुदका लागि पहलकदमी लिनु पर्ने, खेलस्थल निर्माण, प्रशिक्षण तत्काल सुरु गर्ने, खेलाडी र पूर्व खेलाडीको जीविकोपार्जनका लागि सरकारी तवरबाटै विभिन्न सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।

पदभार ग्रहण गरेसँगै मन्त्री गहतराजले नेपाली खेलकुदको विकास र खेलाडीको जीविकाका सवालमा देखाएको चासोले खेलाडीहरुमा सकारात्मक ऊर्जा मिलेको उनीहरुको धारणा छ । तर विगतमा जस्तै मन्त्री र पदाधिकारीबाट आश्वासन मात्र पाउने तर खेलाडीका समस्या जस्ताको तस्तै रहनेमा उनीहरु सशंकीत पनि छन् ।

प्रत्येक चोटी सरकार फेरिँदा आफ्नो मन्त्रालयको नेतृत्वमा आउने नयाँ मन्त्रीलाई संघले पटक पटक एउटै माग गर्दै आएको छ । संघले खेलाडी र पूर्वखेलाडीलाई वर्गीकरण गरेर सरकारले निश्चित सहुलियतको व्यवस्था गर्नुपर्ने, अलपत्र परेका खेल पूर्वाधारको निर्माण पुरा गर्नुपर्ने लगायतका माग राखेको छ ।

त्यस्तै, राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले नीतिगत रुपमा नेपाली खेलकुदलाई सुदृढ बनाउन प्रयास गरे पनि त्यसमा भएका कमिकमजोरी सच्याउन संघको माग छ । ऐनमा भएका कमजोरीको फाइदा गैरखेलाडी र राजनीतिक कार्यकर्ताले लिने सम्भावना बढेको उनीहरुको आशंका छ । तर यस पटक अघिल्लो सरकारमा भएका कमीकमजोरी सच्याउँदै खेल क्षेत्र र खेलाडीको विकासका लागि आफू प्रतिबद्ध गरेको युवा तथा खेलकुद मन्त्री गहतराजले बताए ।

खेलाडीले पदक जित्दा खुसी मनाउँदै बधाई दिन हतारिने नेतृत्वले खेलाडीको वृत्तीविकासमा भने पर्याप्त ध्यान दिन सकेको छैन् । खेलाडीको समस्या त परको कुरा, सरकारबाटै घोषणा भएको पुरस्कार पाउन समेत पटक पटक हात फैलाउन बाध्य भएको तीतो यर्थाथ खेलाडी सामु छन् ।

राष्ट्रको प्रतिष्ठाको लागि खेल मैदानमा रगत पसिना बगाउने खेलाडीले जीवन जीउन र खेल स्तरवृद्धीका लागि सरकारसामु गुहार्नु पर्ने अवस्थाको अन्त्य नभएसम्म अन्तराष्ट्रिय मञ्चमा उलपब्धीको आशा गर्नु पनि मुर्खतापूर्ण हुनेछ ।

खेलकुद विकासका लागि सरकारी तवरबाटै दीर्घकालीन योजना ल्याउन र खेल क्षेत्रलाई व्यवसायिक बनाउन आवश्यक छ । होइन् भने जब जब मन्त्रालयमा मन्त्री फेरिन्छन्, खेलाडीहरु आफ्नो हक अधिकारको माग गर्दै फेरी पनि ध्यानकर्षण गराउने र मन्त्रालयबाट आश्वासन पाउने गोलचक्कर घुमिरहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्