सुडानमा सैन्य कुविरुद्ध भएको प्रदर्शनमा सात जनाको मृत्यु

९ कात्तिक २०७८ सुडान । सुडानमा सैन्य कू को विरोध प्रदर्शनका क्रममा हिंसा भड्किएपछि ७ जनाको मृत्यु भएको छ ।
सत्ता कब्जाको विरोधमा भइरहेको प्रदर्शनमाथि सेनाले अन्धाधुन्ध गोली चलाउँदा ७ जना मारिनुका साथै १ सय ४० भन्दा बढी घाइते भएका छन् । सेनाले राजधानी खार्तुममा घरघर गएर स्थानीय प्रदर्शनका आयोजकलाई पक्राउ गरेको बताइएको छ ।
सेनाले हिजो त्यहाँको सरकार विघटन गर्दै राजनीतिक दलका नेतालाई पक्राउ गरेपछि देशमा संकटकालको घोषणा भएको थियो । कू सँगै प्रधानमन्त्री अब्दुल्ला हमदुकसहित मन्त्रिपरिषद्का अन्य सदस्य नजरबन्दमा परेका छन् ।
कू को विश्वभर निन्दा गरिएपनि राजनीतिक अस्थिरताका कारण यस्तो अवस्था आएको कू का नेतृत्व गरेका सैनिक जनरल अब्देल फातह बुर्हानको भनाइ छ ।
दुई वर्षअघि लामो समय सुडानमा शासन गरेका ओमार अल(बशिरको सरकार अपदस्थ भएपछि त्यहाँ संक्रमणकालिन सरकार र सेनाबीच विवाद रहँदै आएको थियो ।
यससँगै आर्थिक संकटग्रस्त सुडानमा अब अन्तर्राष्ट्रिय सहयोग रोकिने बताइएको छ । अमेरिकाले सात सय मिलियन डलर बराबरको सहयोग रोक्ने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया