खेलकूद

एसिया कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग ४–० गोलले पराजित

हिमालय टिभी
२०७८ कार्तिक ८ गते १९:०७
एसिया कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग ४–० गोलले पराजित

८ कात्तिक २०७८ काठमाडौं । एएफसी २३ वर्ष मुनिको एसियन कप छनोटअन्तर्गत समूहको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

ताजिकिस्तानको राजधानी दुशान्वेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल इरानसँग ४–० गोलले पराजित भएको हो ।

पहिलो हाफसम्म गोल रहित बराबरी भएको खेलको दोस्रो हाफको सुरुवातमै इरानले अग्रता लियो । ४७ औं मिनेटमा इरानले पहिलो गोल गर्यो । नेपालीमाथि पूर्णरुपमा हावी भएको इरानले ७७ औं मिनेटमा अग्रता दोब्बर बनायो ।

दुई गोलले पछि परेको नेपाली टोली सम्हालिन नपाउँदै त्यसको दुई मिनेटमै इरानले तेस्रो गोल गर्यो । ३ गोलको अग्रता बनाएको इरानले खेलको इन्जुरी समयमा थप एक गोल गरेपछि नेपाल पहिलो खेलमै ४–० को फराकिलो अन्तरले स्तब्ध बन्यो ।

यसअघि, खेलको १७ मिनेटमा इरानले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । डिफेन्डर अभिषेक लिम्बुले डि बक्समा इरानी खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टी कप्तान ओमिड नुरफ्कानले पोष्ट बाहिर प्रहार गरे ।

जितसँगै इरानले पहिलो खेल जित्दै ३ अंक जोडेको छ । हारसँगै एसिया कपमा छनोट हुने नेपालको सम्भावना कमजोर बनेको छ ।

यही समूहको अर्को खेलमा अहिले घरेलु टोली ताजिकिस्तान र लेबनानबीच प्रतिस्पर्धा भइरहेको छ । अब नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार ताजिकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्