विश्वकप क्रिकेटमा पाकिस्तानको शानदार शुरुवात, भारत १० विकेटले पराजित
८ कात्तिक २०७८ दुबई । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा पाकिस्तानले शानदार शुरुवात गरेको छ ।
विश्वकप अन्तर्गत समूह दुईको सुपर–टुवेल्भमा पाकिस्तानले आफ्नो चिरप्रतिद्वन्द्वी भारतमाथि १० विकेटको जित निकालेको हो । कुनै पनि विश्वकपको खेलमा पाकिस्तानको भारतमाथि यो पहिलो र ऐतिहासिक जित हो ।
यस्तै भारत पहिलो पटक अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी प्रतिस्पर्धामा १० विकेटले पराजित भएको छ । १ सय ५२ रनको मध्यम लक्ष्य पाकिस्तानले १३ बल अगावै बिना विकेट पूरा गरेको थियो ।
पाकिस्तानका मोहमद रिजवान ७९ तथा कप्तान बाबर आजम ६८ रनमा अविजित रहे ।
यसअघि दुबईको दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ५१ रन जोडेको थियो । उसका लागि कप्तान विराट कोहलीले ५७ रनको अर्धशतकीय इनिंग्स खेले ।
त्यस्तै ऋषभ पन्त ३९ रनमा पेभेलिएन फर्के । बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ तथा हसन अलिले २ विकेट लिए । आज अफगानिस्तान र स्कटल्याण्डबीच खेल हुनेछ ।
प्रतिक्रिया