समाज

सीसीटीभी निकालिएपछि बढ्न थाल्यो अपराधका घटना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ६ गते १८:०९
सीसीटीभी निकालिएपछि बढ्न थाल्यो अपराधका घटना (भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७८ बागलुङ । सुरक्षा निगरानीका लागि ७ वर्षअघि बागलुङका मुख्य सडकमा सीसीटीभी जडान गरिएको थियो । तर, अहिले ती ‘सीसीटीभी क्यामेरा’ निकालेर राखिएको छ । सुरक्षाका लागि भन्दै जोडिएका क्यामेराहरु निकालेर राखेपछि जिल्लामा चोरी, लुटपाट लगायतका अपराधका घटना बढ्दै गएका छन् ।

२०७१ फागुनमा बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ नगरपालिका र जिल्ला प्रहरी कार्यालय बागलुङको सहकार्यमा जिल्लाका मुख्य सडकमा लाखौँ रुपैयाँ खर्चेर २९ वटा सिसिटिभी क्यामेरा जडान गरिएको थियो ।

अहिले ती सीसीटीभी क्यामेरा बागलुङ नगरपालिकाको बेवास्ताले प्रयोगविहीन अवस्थामा छन् । जसका कारण जिल्लामा दिनदहाडै चोरी, लुटपाटलगायतका घटना बढेका छन्।

अपराध नियन्त्रण र सामाजिक सुरक्षामा सहयोग गर्न भन्दै जडान गरिएका सीसीटीभी क्यामेराको जिल्ला प्रहरी कार्यालय बागलुङले निगरानी गरिरहेको थियो । बिग्रिएका क्यामेरा मर्मत गर्नुपर्ने, स्थानान्तरण गर्नुपर्ने र परिवर्तन गर्नुपर्ने भएकाले सीसीटीभी क्यामेरा निकालिएको बागलुङ नगरपालिकाको दाबी छ ।

बढ्दै गएका अपराधका घटनाले जिल्लामा सुरक्षा चुनौती थपिएको छ । सीसीटीभी संचालनमा ल्याउन जिल्लास्थित सरोकारवाला निकायसँग सहकार्य भैरहेको बागलुङ नगरपालिकाको भनाइ छ ।

स्थानीय तहको चुनावपछि सीसीटीभी मर्मतका लागि सहकार्य गर्न गरेको प्रस्ताव बागलुङ नगरपालिकाले अस्वीकार गरेको बागलुङ उद्योग बाणिज्य संघको आरोप छ ।

सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएको सीसीटीभी क्यामेरा जडान् भएपछि पनि मर्मत नहुनु दुखद हो । साथै स्थानीय सरकारले मर्मत गर्न नसक्नु लज्जाको विषय हो । यस विषयमा बागलुङ नगरपालिकाले ध्यान पुर्याएको खन्डमा अपराधका घटना न्यूनीककरण गर्न सहज हुने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *