यसपटकको भैंसी सम्मेलन पनि भर्चुअल हुने

हिमालय टिभी
२०७८ कार्तिक ६ गते १५:०६
यसपटकको भैंसी सम्मेलन पनि भर्चुअल हुने

६ कात्तिक २०७८ चितवन । नेपालमा एसियन भैंसी सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले भैसी बिज्ञहरुको सम्मेलन गर्न लागेको हो।

सम्मेलनमा १७ देशका भैंसीविज्ञहरुको सहभागिता रहने छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपंक्षि विकास मन्त्रालय, एसियन बफेलो एशोसियसन र इन्टरनेशनल बफेलो फेडेरेशनको आयोजनामा भर्चुअल सम्मेलन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सम्मेलन यही कात्तिक ८ गतेदेखि १२ गतेसम्म चितवनमा हुनेछ।

नेपालमा दूग्ध उत्पादनमा भैंसीले करिव ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको छ । विश्वविद्यालयमा भैंसी अनुसन्धानमा दीर्घकालिन योजना अनुरुप भैंसी अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको छ ।

१० औं एसियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्रा. डा. भूमिनन्दन देवकोटाले सम्मेलनमा ३ सय ५० बढी सहभागी हुने जानकारी दिनुभयो । १७ देशका भैंसी विज्ञहरुले ७ विधामा १ सय ३५ बढी कार्यपत्र प्रस्तुत गर्नेछन ।

वैज्ञानिक, प्राध्यापक, कृषक तथा विद्यार्थी सहभागी भएर ५ दिनसम्म छलफल हुनेछ । भैंसीपालन, व्यवस्थापन, स्वास्थ, बजारीकरण एवं उपयोगिताबारे भएका नविनतम खोज, अनुसन्धानबारे गहन छलफल हुनेछ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले नेपालमा ओझेलमा परेको पशुपालनलाई उचाई दिन सम्मेलनले सघाउने बताउनुभयो । अन्तर्राष्ट्रियस्तरमा दशौं पटक मनाउन लागिएको सम्मेलन नेपालमा भने पहिलो पटक मनाउन लागिएको रेग्मीको भनाई छ ।

एसियामा ९० प्रतिशत भैंसीपालन हुँदै आएको छ । नेपाल एसियामै भैंसी उत्पादनमा चौथो स्थानमा पर्छ । नेपालमा करिब ५२ लाख भैंसी रहेको अनुमान छ । दूध दिन छाडेपछि पनि मासु र छाला उपयोग हुने भएकाले भैंसीलाई बहुउपयोगी जनावर मानिन्छ । सम्मेलन भर्चुअल माध्यमबाट गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *