खेलकूद

नेपाली मुलका इटालिनय खेलाडी विकास च्यासल युथ क्लबमा अनुबन्ध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ५ गते २०:५६
नेपाली मुलका इटालिनय खेलाडी विकास च्यासल युथ क्लबमा अनुबन्ध (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७८ काठमाडौं । कात्तिक २९ गतेदेखि शुरु हुन लागेको सहिद स्मारक ए डिभिजन लीगका लागि सहभागी क्लबहरुले तयारी तीव्र पारेका छन् । क्लबहरु प्रायोजक भित्र्याउनेदेखि खेलाडी अनुबन्ध र प्रशिक्षणमा लागिरहेका छन् । यसैक्रममा तेस्रो सिजन शीर्ष डिभिजन खेल्न लागेको च्यासल युथ क्लबले इटालीको राष्ट्रिय युवा टोलीका पूर्व खेलाडी विकास मेराग्लियालाई अनुबन्ध गरेको छ ।

५ वर्ष अगाडी बी डिभिजनबाट घरेलु फुटबलको शीर्ष डिभिजनमा उक्लिएको च्यासल युथ क्लबले पहिलो सिजनदेखिनै लीगमा राम्रो छाप छोड्न सफल भएको छ । सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो सिजन आठौं र दोस्रो सिजनमा नवौं स्थानमा रहेको च्यासल यस पटक थप परिष्कृत नतिजाका लागि लीगमा सहभागी हुँदैछ ।

यसैक्रममा क्लबले खेलाडी अनुबन्ध गर्दै टोलीले तयारी समेत शुरु गरिसकेको छ । तीव्र तयारी गरेको क्लबले यस पटक नेपाली मूलका इटालीयन खेलाडी विकास मेराग्लियालाई टोलीमा अनुबन्ध गरेको छ । इटालीको १६ वर्ष मुनिको राष्ट्रिय टोलीबाट खेलिसकेका विकासलाई क्लबले विदेशी खेलाडीको कोटामा च्यासल मैदानमा औपचारिक रुपमा सार्वजनिक गरेको हो । इटालीबाट तेह्र वर्षपछि जन्मभूमि फर्केपछि आफ्नो सपना पूरा भएको बताउने विकास पहिलो पटक यहाँ खेल्न लाग्दा उत्साहित छन् ।

यसअघि, नेपाली फुटबलको विषयमा खासै जानकार नरहे पनि पछिल्लो समय नेपाली फुटबल पछ्याउन थालेको उनले बताए । नेपाली खेलाडीको स्तर राम्रो रहेको भन्दै उनले सबैमा सहयोगी भावना पाएको बताउँछन् । १९ वर्षीय विकास र क्लबका अध्यक्ष रमेश व्यञ्जनकारबीच एक वर्षका लागि सम्झौतामा हस्ताक्षर भयो । लगातार दुई वर्षदेखि उनलाई नेपाल ल्याउन प्रयास गरेपनि अन्ततः विकासलाई क्लबबाट खेलाउन पाउँदा क्लब पनि खुसी छ ।

६ वर्षको उमेरमै इटालीयन दम्पतीसँग उतै गएका विकास त्यसपछि पहिलो पटक नेपाल आएका हुन् । युरोपकै चर्चित क्लब एटलान्टाको युथ टोलीबाट खेलिसकेका विकासलाई इटालियन युथ फुटबलमा समेत प्रभावशाली खेलाडीको रुपमा लिइन्छ ।

इटालीकै अर्को चर्चित क्लब भेनेजियाकोको जुनियर र काटोलिका र मारिग्लयानेसको सिनियर टोलीको अनुभव लिइसकेका उनलाई राष्ट्रिय टोलीबाट खेल्न दिनुपर्ने माग हुँदै आएको छ । तर अहिले पूर्ण रुपमा क्लबको तयारीमा लागे पनि राष्ट्रिय टोलीबाट खेल्ने अवसर आए सोच्ने सकिने उनको भनाई छ ।

विकासको आगमनले घरेलु फुटबलका दर्शकले युरोपेली खेलशैलीको मज्जा त उठाउनेनै सँगै पछिल्लो पटक स्तरीय खेल खेल्दै आएको नेपाली टोलीमा पनि सम्भावनाको ढोका खोल्ने पक्का छ । यही क्लबबाट गत सिजन पूर्व राष्ट्रिय खेलाडी सन्तोष साहुखलले १०० औं गोल पुरा गरेका थिए । क्लबले यसअघि प्रशिक्षकमा बालगोपाल साहुखल र टेक्निकल डिरेक्टरमा ले मान्सनलाई अनुबन्ध गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्