समाज

महोत्तरीमा बोक्सीको आरोपमा हत्या र दुर्व्यवहार, पीडितलाई न्याय कहिले ? भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ५ गते १८:१०
महोत्तरीमा बोक्सीको आरोपमा हत्या र दुर्व्यवहार, पीडितलाई न्याय कहिले ? भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७८ महोत्तरी । बोक्सीको आरोपमा महोत्तरीमा हत्या र दुर्व्यवहारको घटना बाहिरिएपछि पीडितलाई न्याय र पीडकमाथि कारबाहीको माग बढेको छ ।

देशभर बडादशैंको उत्सव चलिरहँदा महोत्तरीको महोत्तरी गाउँपालिका –३ मडईमा बोक्सी आरोपमा एक महिलाको हत्या भयो । जिल्लाकै जलेश्वर नगरपालिका ४ की ४२ वर्षीया सुकमरिया देवीलाई पनि बोक्सीको आरोपमा कुटपिटका साथै दुर्व्यवहार गरियो ।

अन्धविश्वास र कुसंस्कारको आडमा मानव अधिकारको चरम उल्लंघन भएका यी दुई घटना भएको झण्डै दुई सातापछि अधिकारकर्मीहरु पीडितलाई न्याय दिलाउन र पीडकमाथि कारबाही चलाउन तातिएका छन् ।

बोक्सीको आरोपमा हुने यस्ता जघन्य अपराधमा अधिकांश विपन्न, असहाय र एकल महिला पिल्सिँदै आएका छन् । दोषीलाई कानून बमोजिम कारबाही नहुँदा पीडकको मनोबल बढ्दै गएको छ भने पीडितको न्यायप्रतिको विश्वास घट्दै गएको छ ।

स्थानीयस्तरमा न्यायका लागि गुहार माग्ने ठाउँ स्थानीय तहलेसमेत साथ नदिँदा पीडितहरु थप पीडामा छन् ।

जनप्रतिनिधिहरु भने यस्ता घटनामा तत्काल अग्रसरता लिएर पीडितको साथमा उभिनुपर्नेमा आश्वासन मात्रै दिने गरेका छन् ।

महिलामाथि दुर्व्यवहारको घटनामा प्रहरीले हाल चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । आरोपी एक जना भने फरार छन् । जनप्रतिनिधिहरु पनि कारबाही हुनुपर्छ भन्नेमा छन् तर पीडितलाई वास्तविक रुपमा साथ दिने मानिसको अभाव देखिन्छ ।

बोक्सीकै आरोपमा महिलामाथि दुर्व्यवहार र हत्यासम्मका घटना वर्षौँदेखि कायम छन् । मानवजातिकै उपहास हुनेगरी भएका घटनामा सरोकारवाला निकाय संयमित नहुँदा घटनाहरु कम हुनुको साटो बढ्दै गएका छन् ।

स्थानीयस्तरमा आम नागरिकका हरेक सरोकारमा साथ दिने स्थानीय तहदेखि, प्रदेश सरकार र संघीय सरकारका निकायसमेत बेखबर बन्दा पीडितहरु थप पीडामा त छन् नै अमानवीय हर्कत दोहोरिने त्रासमा बाँच्न बाध्य भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *