खेलकूद

अब्दुल्लाह अलमुताइरीको निरन्तरता प्रयास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३ गते २०:३१
अब्दुल्लाह अलमुताइरीको निरन्तरता प्रयास (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीलाई पहिलो पटक दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी टोलीलाई निरन्तरता दिन सकारात्मक देखिएका छन् । कतारमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पासँगको छलफलपछि उनी नेपाली टोलीसँग जोडिन तयार गरेको बताएका हुन् ।

पटकपटक राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक छोड्ने घोषणा गर्दै आएका अब्दुल्लाह अलमुताइरीले माल्दिभ्समा साफ च्याम्पियनसिपको राउण्ड रोबिन लीगको अन्तिम खेलपछि पनि त्यही कुरा दोहोर्‍याए ।

बंगलादेशसँग १–१ गोलको बराबरी गर्दै साफ इतिहासमै पहिलो पटक फाइनल पुगेपछि भएको पत्रकार सम्मेलनमा आक्रोशित मुद्रामा देखिएका उनले फाइनल पछि नेपाल नफर्किने घोषणा गरे ।

साफकै दौरान उनले एन्फालाई मेल गर्दै राजीनामा पठाएको बुझिएको छ । साफ अगाडीनै पदबाट राजीनामा दिइसकेको बताउँदै उनले फाइनल नै नेपाली टोलीबाट मुख्य प्रशिक्षकका रुपमा आफ्नो अन्तिम खेल हुने बताएका थिए ।

उनको यो भनाइबाट निराश बनेका नेपाली समर्थक फाइनलमा उनै प्रशिक्षकबाट आएको अभिव्यक्तिबाट भने आशावादी देखिए । फाइनलपछि संचारकर्मीसँग कुरा गर्दै उनले एन्फाबाट प्रस्ताव आए छलफल गर्न सकिने बताएका थिए ।

नेपालप्रति देखाएको उनको समभावबाट खुसी भएका समर्थकले एन्फाले कुनै पनि हालतमा अलमुताइरीलाई प्रशिक्षणमा फर्काउनु पर्ने माग राख्दै सामाजिक संजालमा क्याम्पिन नै चलाए । टोलीको सुधारिएको प्रदर्शन, पाएको सफलता र समर्थकको दबाबकाबीच एन्फा पनि उनको सम्झौता थप्न तयार थियो । र फाइनल हेर्न माल्दिभ्स गएका एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र अन्य पदाधिकारीले उनीसँग सकारात्मक छलफल भएको थियो ।

तर केही साताको विश्रामपछि विचार गर्ने भन्दै कतार गएका उनलाई फर्काउन एन्फा अध्यक्ष पनि माल्दिभ्सबाटै कतार गएका थिए । कतार फुटबल संघको सहयोगमा अलमुताइरी गतवर्ष नेपाल आएका थिए । त्यसैले कतार फुटबल संघ र अलमुताइरीसँग यस विषयमा छलफल गर्न शेर्पा कतार पुगेका थिए । कतारमा अलमुताइरीसँग भएको भेटर्वार्ता सकारात्मक रहेको भन्दै शेर्पाले गरेको फेसबुक पोष्टबाट पनि उनी नेपाल आउन सकारात्मक रहेको बुझ्न सकिन्छ ।

तर एन्फा स्रोतका अनुसार भने उनले यसअघिनै एक वर्षका लागि सम्झौता थप गरिसकेका थिए । यसका लागि कतार फुटबल संघसँग पनि छलफल र सम्झौता आवश्यक रहेका कारण शेर्पा कतार गएका हुन् । मैदानभित्र र बाहिरका विभिन्न कारण चर्चामा रहने गरेको अलमुताइरीका सम्बन्धमा शेर्पाले कतारबाट गरेको पोष्टले नेपाली समर्थक भने उत्साहित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्