आर्थिक

बहुउपयोगी टिमुरः जथाभावी चोरी निकासी गर्दा लोप हुन थाल्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३ गते १७:२६
बहुउपयोगी टिमुरः जथाभावी चोरी निकासी गर्दा लोप हुन थाल्यो (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ पाल्पा । बहुउपयोगी टिमुरका दाना जथाभावी टिपेर चोरी निकासी गर्दा पाल्पामा लोप हुन थालेको छ । वनजंगलमा पाइने जडीबुटी टिमुरको औषधीय गुण पाइने भएकाले चोरी निकासी गर्दा लोप हुने खतरा बढेको हो ।

पहाडी जिल्ला पाल्पाका डाँडा क्षेत्रका जंगलमा प्रशस्त पाइने टिमुर अहिले देखिन नै मुश्किल भएको छ । महङ्गोमा कारोबार हुने भएपछि वनजंगलमा जथाभावी रुपमा टिमुर टिप्दा पुराना रुखहरु मरेका छन् ।

हाँगा भाँचेर, काटेर समेत टिमुर टिप्दा रुखहरु सुकेको हो । पाल्पाको रिब्दीकोट, रैनादेवी छहरा गाउँपालिकाका अधिकाँश स्थानमा उत्पादित टिमुर पाल्पा हुँदै रुपन्देही, नवलपरासी, कपिलबस्तु लगायत जिल्लामा चोरी निकासी हुँदै आएको छ ।

टिमुर बहुपयोगी मानिन्छ । विभिन्न स्वास्थ्य समस्याको उपचारमा टिमुर प्रयोग हुन्छ । टिमुरलाई अचार तथा मसलाको रुपमा पनि प्रयोग गरिन्छ । फल तथा पातको धुलो दात माँझ्न समेत प्रयोग हुँदै आएको छ ।

पाल्पामा टिमुर प्रतिमाना १२ सय रुपैयाँमा कारोबार हुन्छ । तर चोरी निकासीका कारण वन क्षेत्रमा लगाइएको टिमुर हुर्काउन समस्या भएको छ ।

डिभिजन वन कार्यालय पाल्पाले सामुदायिक वन तथा नीजि वनमा टिमुर विस्तार गर्न लागेको छ । पाल्पामा वन कार्यालयले नर्सरीमा नै टिमुरका विरुवा उत्पादन गर्दै आएको छ । पूर्वी र पश्चिम पाल्पामा टिमुरको राम्रो सम्भावना रहेकोले नयाँ विरुवा रोप्ने तथा प्राकृतिक रुपमा जंगलमा रहेका विरुवालाई संरक्षण गर्ने रणनीति वन कार्यालयको छ ।

वनमा पहिले टिमुर देखिएपनि सामुदायिक वन क्षेत्र संरक्षणका कारण हराएको हो । टिमुरको संरक्षणका लागि पर्याप्त मल र पानीको व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *