खेलकूद

राखेप सदस्य सचिव सिलवाल बर्खास्त, खेल क्षेत्र यसरी तरंगित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३ गते ७:२२
राखेप सदस्य सचिव सिलवाल बर्खास्त, खेल क्षेत्र यसरी तरंगित (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाललाई पदबाट बर्खास्त गर्ने निर्णय भएसँगै खेलक्षेत्र तरंगित भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । राजनीतिक नियुक्ति हुँदै आएको सदस्य सचिवमा सरकार परिर्वतनसँगै पात्र पनि फेरिँदा खेल क्षेत्र समेत योजनाबद्ध ढंगले चल्न सकेको छैन् ।

राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपमा पाएको उपलब्धीमा सिंगो देश र समर्थक खुसी मनाइरहँदा खेल क्षेत्रको नेतृत्वमा भने फेरि राजनीतिक दाऊपेच शुरु भएको छ । शेरबहादुर देउवा नेतृत्व सरकारले पूर्ववर्ती सरकारले गरेका नियुक्तिहरु धमाधम खारेज गरिरहेको छ । यसैक्रममा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णय गर्यो ।

नयाँ राष्ट्रिय खेलकुद ऐन लागू भएपछि गत वर्ष दोस्रो पटक ४ वर्षका लागि सदस्य सचिवमा नियुक्त भएका सिलवाललाई बर्खास्त गरेको हो । सदस्य सचिवकै हैसियतमा साफ च्याम्पियनसिपको फाइनल हेर्न माल्दिभ्स गएका सिलवाल नेपाल आउनु अघिनै सरकारले हटाउने निर्णय गरेको थियो ।

युवा तथा खेलकुद मन्त्रालयमार्फत देउवा सरकारले दसैंअघि नै सिलवाललाई स्पष्टिकरण सोधेको र जवाफ चित्त बुझ्दो नभएकाले हटाइएको सरकारी दाबी छ । सिलवालले भने आफूलाई हटाइएको औपचारिक जानकारी नआएको बताएका छन ।

तात्कालिन केपी ओली नेतृत्व सरकारले २०७६ असारमा सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिव नियुक्त गरेको थियो । केशवकुमार विष्टको कार्यकाल सकिएपछि ओलीका विश्वास पात्र मानिने सिलवाललाई सरकारले नेपाली खेलकुदको बागडोर सम्हाल्ने मौका दियो ।

विभिन्न पेशा व्यवसाय सहित मदन भण्डारी स्पोर्ट्स एकेडेमी र क्रिकेट टोलीका मालिकका रुपमा खेल क्षेत्रमा देखिएका उनी गत वर्ष असार १७ गते नयाँ राष्ट्रिय खेलकुद ऐन लागू भएपछि स्वतः पदमुक्त भएका थिए ।

पछि खेलकुद ऐन अनुसारनै सबै मापदण्ड पुरा गरि खुल्ला छनोट प्रक्रिया मार्फत् त्यहि वर्षको साउनमा उनी दोस्रो पटक चारवर्षे कार्यकालका लागि नियुक्त भए । नेपाली खेलकुद बुझेका र शैक्षिक दक्षता भएका उनको आगमनबाट खेल क्षेत्रले पनि निकै अपेक्षा राखेको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुद साग पटक पटक सर्दा राष्ट्रिय प्रतिष्ठामै प्रश्न उठिरहेको समय उनले पहिलो लक्ष्यनै प्रतियोगिता सम्पन्न गर्नु रहेको भन्दै उद्घोष गरे । र राखेपमा आएको ६ महिनामै सागको सफल आयोजना गरि आफुलाई प्रमाणित पनि गरे ।

फास्ट ट्रयाकमार्फत् खेल सामग्री खरिद र पूर्वाधार निर्माणमा उनको भुमिका प्रभावकारी रह्यो । २ दशकपछि नेपालले सागको सफल आयोजना गर्दा नेपाली टोलीले ५१ स्वर्णसहित २ सय ६ पदक जित्दै ऐतिहासिक सफलता पनि पायो । २०७२ सालको भुकम्पपछि तहसनहस भएको देशकै एकमात्र अन्तरराष्ट्रिय खेलस्थल दशरथ रंगशाला ५ वर्ष भन्दा बढि समयपछि खेल्न योग्य बनाउने देखि अन्य पूर्वाधार निर्माणमा उनले प्रशंसानै पाए । तर साग आयोजनाका लागि खेल सामाग्री खरिद लगायतका विषयमा व्यापक आर्थिक अनियमितता भएको महालेखा परीक्षकले वार्षिक प्रतिवेदनमा उल्लेख गर्यो ।

प्रतिवेदनका अनुसार खेल सामाग्री खरिदमा मात्र प्रचलित दर रेट भन्दा ६ गुणा बढी सम्म खर्च भएको थियो । सिलवालले समग्र खेल क्षेत्रकै नेतृत्वदायी भुमिका रहे पनि सबैलाई समान व्यवहार नगरेको र चेन अफ कमाण्ड समेत नमान्ने आरोप झेल्दै आएका थिए ।

शक्ति निकायलाई रिझाउन सक्ने खुबी भएका उनले दोस्रो पटकको नियुक्तीसँगै केन्द्र र प्रदेशमा समेत खेलाडीको प्रशिक्षण, लगातार प्रतियोगिता र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिने बताएका थिए । तर कोरोना महामारीका कारण उनले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्न सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्