समाज

भक्तप्रल्हाद कुमार साह–हौसला र अवसर भए असम्भव केही छैन भन्ने बलियो उदाहरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २ गते १६:३८
भक्तप्रल्हाद कुमार साह–हौसला र अवसर भए असम्भव केही छैन भन्ने बलियो उदाहरण (भिडियो रिपोर्टसहित)

२ कात्तिक २०७८ काठमाडौं । हौसला र अवसर भए जे पनि सम्भव छ । यसको एक उदाहरण बन्नुभएको छ, धनुषाको मिथिला बिहारी नगरपालिकाका भक्तप्रल्हाद कुमार साह, जो खुट्टाले होइन दुई हातकै सहारामा आइपर्ने सबै काम गर्नुहुन्छ अनि हिड्दै पढन दैनिक कलेज जाने गर्नुभएको छ । उहाँ अन्य कयौंका लागि प्रेरणाको श्रोत हुनुभएको छ ।

उहाँ हुनुहुन्छ धनुषाको मिथिला बिहारी नगरपालिका– ७ तारापट्टीका भक्तप्रल्हाद कुमार साह । खुट्टा टेकेर हिँड्न नसक्ने भक्तप्रल्हादलाई हिँड्नका लागि पनि दुई हात नै पर्याप्त छन् ।

उहाँ तारापट्टीदेखि ८ किलोमिटर बस यात्रा तय गरेर जनकपुरधामको युनिर्भसल एकेडेमीमा अध्ययनका लागि आउनु हुन्छ । घरदेखि बस स्टेशनसम्म आउन र बसबाट ओर्लेर कलेजसम्म पुग्न उहाँ यसरी हात टेकेर हिँड्नुहुन्छ । वाणिज्य संकायमा भर्ना भएका भक्तप्रल्हाद क्याम्पस पढने हजारौं विद्यार्थीको प्रेरणा र हौसलाको पात्र बन्नुभएको छ ।

एसईई परीक्षामा ए ग्रेड ल्याएर उत्तीर्ण भएपछि भक्तप्रल्हादको इच्छा कम्प्युटर इन्जिनियर बन्ने थियो । तर बुवा लक्ष्मण साह र आमा सावित्रीदेवी साहले आर्थिक अवस्थाका कारण पढाउन नसक्ने भएपछि भक्तप्रल्हादको इच्छा बदलियो, संकल्प बदलिएन । उहाँले जनकपुरमै व्यवस्थापन संकाय पढ्ने दृढ संकल्प गर्नुभयो ।

जन्मजात फरक क्षमता भएका भक्तप्रल्हादका अभिभावकले उहाँको सुरुवाती शिक्षा निजी विद्यालयबाटै थालनी गर्नुभयो । उच्च शिक्षामा पढने सम्पूर्ण बन्दोबस्ती भने भक्तप्रल्हादले आफनै पहलमा गर्नुभएको हो ।

कलेजका लागि बस चढ्न भक्तप्रल्हाद बिहान पौने ६ बजे गाउँको चोकमा पुगिसक्नुहुन्छ । पढाइमा अब्बल भक्तप्रल्हादको पढाई–लेखाई, यातायात, शैक्षिक सामग्री र पोशाकसमेत निःशुल्क उपलब्ध गराएर कलेजले प्रोत्साहन गरेको छ ।

दैनिकीदेखि पढाईलेखाईसम्मको काममा भक्तप्रल्हाद आत्मनिर्भर हुनुहुन्छ । भक्तप्रल्हादको यो साहस र आँट यस क्षेत्रका उच्च शिक्षा हासिल गर्ने र गरिरहेका किशोर किशोरीका लागि प्रेरणादायी बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *