खेलकूद

एएफसी एसिया कप छनोट खेल्न आज ताजकिस्तान जाँदै नेपाली फुटबल टोली

हिमालय टिभी
२०७८ कार्तिक २ गते ७:१३
एएफसी एसिया कप छनोट खेल्न आज ताजकिस्तान जाँदै नेपाली फुटबल टोली

२ कात्तिक २०७८ काठमाडौं । २३ वर्ष मुनिको एएफसी एसिया कप छनोट खेल्न आज नेपाली टोली ताजकिस्तान जाँदैछ । २३ सदस्यीय खेलाडीसहितको टोलीलाई सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरुले विदाइ गरेका छन् ।

२३ वर्ष मुनिको एएफसी एसिया कप छनोटका लागि नेपाली युवा टोली आज ताजकिस्तान जाँदैछ । छनोट प्रतियोगिताका लागि एक महिनादेखि प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीलाई बन्द प्रशिक्षण गराइरहेका थिए ।

प्रारम्भिक प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाइएकोमा आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा भयो । जसमा साफ च्याम्पियनसिपका लागि सिनियर टोलीमा रहेका ६ खेलाडी पनि टोलीमा समावेश छन् ।

स्ट्राइकर मनिष डाँगी, मिडफिल्डर नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान तथा डिफेन्डर सुमन अर्याल र गौतम श्रेष्ठ टोलीमा समावेश भएका हुन् । अन्य ६ जनाले पनि सिनियर टोलीको अनुभव लिईसकेका छन् । तर छोटो समयको तयारी र कुनै अभ्यास खेल खेल्न नपाउँदा टोलीमा केही असर पर्न सक्ने प्रशिक्षकको धारणा छ ।

छनोटमा नेपाल रहेको समूह बीमा इरान, ताजकिस्तान र लेबनान छन् । वरियतामा पनि नेपालभन्दा निकै माथि रहेका तीन वटै टोलीमध्ये पनि नेपालका लागि इराननै मुख्य चुनौती हुने प्रशिक्षक महर्जनको विश्लेषण छ । तर पनि अनुभवी खेलाडीबाट उत्कृष्ट प्रदर्शनको आशा राखेको उनले बताए ।

नेपालले अहिलेसम्म छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहीन छ । यस पटक समूहमा नेपालले ८ गते इरान, ११ गते ताजकिस्तान र १४ गते लेबनानसँग खेल्ने छ । तर यस पटक भने खेलाडीहरु पनि आशावादी देखिएका छन् ।

छनोटमा ४१ टोली सहभागी छन । एसिया पूर्वका १९ र पश्चिम क्षेत्रका २३ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । प्रत्येक समुहका शीर्ष टोली र उत्कृष्ट ५ उपविजेता गरि १६ टोलीले एसिया कपमा स्थान बनाउने छन् । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्