खेलकूद

स्वदेश फर्कियो साफ उपविजेता टोली, खेलकुदमन्त्रीले गरे स्वागत, विमानस्थलमा देखियो यस्तो दृष्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १ गते १८:३७
स्वदेश फर्कियो साफ उपविजेता टोली, खेलकुदमन्त्रीले गरे स्वागत, विमानस्थलमा देखियो यस्तो दृष्य (भिडियो रिपोर्टसहित)

१ कात्तिक २०७८ काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली एक महिनाभन्दा लामो समयपछि आज स्वदेश फर्किएको छ ।

ऐतिहासिक उपलब्धि हासिल गरेको नेपाली टोलीलाई विमानस्थलमा ठूलो संख्यामा समर्थकसहित युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराज र अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरुले स्वागत गरे ।

नेपाली टोली दोहा हुँदै त्रिभुवन विमानस्थलमा अवतरण गर्दा बाहिर सयौंको संख्यामा समर्थकहरु कुरिरहेका थिए । बाजागाजासहित युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरुले खेलाडीको भव्य स्वागत गरे ।

२८ वर्षको साफ इतिहासमा पहिलो पटक फाइनल पुग्दै ऐतिहसिक उपलब्धी हासिल गर्दा फेरि एक पटक नेपाली खेल क्षेत्र तरंगित बनेको छ ।

विभिन्न उतार चढावकाबीच फाइनलसम्मको यात्रा गरेको नेपाल भारतसँग ३–० ले पराजित हुँदै पहिलो उपाधि जित्नबाट भने बञ्चित भयो । तर पनि यस पटक टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको र यो टोलीबाट धेरै सफलताको आशा गर्न सकिने कप्तान तथा गोलकिपर किरण चेम्जोङ बताउछँन् ।

विश्वकप तथा एसियाकप छनोटदेखिनै लगातार प्रशिक्षणमा रहेको नेपाली टोलीले यस पटक सुरुवाती दुई खेलमा लगातार जित हात पार्दै शान्दार सुरुवात गर्यो ।

तर तेस्रो खेलमा भारतसँग पराजित भएपछि अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल इतिहासमै पहिलो पटक साफको फाइनलमा पुगेको हो । तर चीर प्रतिद्वन्द्वी भारतसँग फेरि एक पटक चुक्दा नेपाल उपविजेतामा सीमित भएको थियो ।

यद्यपि टोलीको प्रदर्शन र उपलब्धीबाट भने सारा नेपाली खुसी छ । टोलीको स्वागतमा विमानस्थलमा उपस्थित युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीमा जितको मानसिकता र लय कायम राख्न सरकारका तर्फबाट पूर्णरुपमा साथ र सहयोग रहनेमा विश्वस्त पारे ।

सबै खेलाडी तथा अफिसियल एक महिनाभन्दा बढी समयपछि स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र डिफेन्डर र रोहित चन्द भने आएका छैनन् । अलमुताइरी कतारबाट आफ्नै घर कुवेत प्रस्थान गरेका छन् ।

त्यस्तै, रोहित भने क्लबको जिम्मेवारी पुरा गर्न माल्दिभ्सबाट इन्डोनेसिया गएका छन् । पर्सिजा जाकार्ताबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित साफका लागि पनि इन्डोनेसियाबाटै माल्दिभ्स गएका थिए ।

अनुभवी र युवा खेलाडीको मिश्रण रहेको यो टोलीले नेपाली फुटबलको स्तर प्रमाणित गर्न सफल त भयो अब यही लय टिकाउँदै थप सफलता पाउन सरकार र एन्फा लगायत सम्बन्धित निकायले अपनाउने कदमले महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्