साफ उपविजेता नेपाली फुटबल टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत (भिडियो रिपोर्टसहित

१ कात्तिक २०७८ काठमाडौं । १३ औं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ ।
स्वदेश फर्किएका खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले स्वागत गरेका थिए । यस्तै समर्थकहरु पनि खेलाडीको स्वागतमा विमानस्थलमा पुगेका थिए ।
पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल फाइनलमा भारतसँग ३–० गोलले पराजित हुँदै उपविजेतामै सीमित भएको थियो । प्रतियोगितामा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराउँदा बंगलादेशसँग बराबरी र भारतसँग दुबै खेल हारेको थियो ।
डिफेन्डर रोहित चन्द र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी भने टोलीसँगै फर्किएनन् । रोहित व्यावसायिक फुटबल खेल्न उतैबाट इन्डोनेशिया गएका छन् ।
यस्तै प्रशिक्षक अलमुताइरी माल्दिभ्सबाट आफ्नै घर कुवेत गएका छन् । उनले केहि साताको विश्राम पछिमात्र टोलीमा निरन्तरता दिने विषयमा निर्णय गर्ने बताएका छन् ।
मुख्य प्रशिक्षक नियुक्त भएकै समयमा साफको फाइनलमा पुग्ने लक्ष्य राखेका उनले नेपाललाई पहिलो पटक फाइनल पुर्याए । तर प्रतियोगितापछि नेपाल नफर्किने बताएपछि निराश बनेका समर्थक उनको पछिल्लो अभिव्यक्तिले आशावादी पनि देखिएका छन् ।
प्रतिक्रिया