खेलकूद

नेपाल नफर्कने घोषणामा पुनःविचार गर्ने मुख्य प्रशिक्षक अलमुताइरीको संकेत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३१ गते २०:५१
नेपाल नफर्कने घोषणामा पुनःविचार गर्ने मुख्य प्रशिक्षक अलमुताइरीको संकेत (भिडियो रिपोर्टसहित)

३१ असोज २०७८ काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले केही साताको विश्राम पछि मात्र टोलीमा निरन्तरता दिने विषयमा निर्णय गर्ने बताएका छन् ।

मुख्य प्रशिक्षक नियुक्त भएकै समयमा साफको फाइनलमा पुग्ने लक्ष्य राखेका उनले नेपाललाई पहिलो पटक फाइनल पुर्याए । तर प्रतियोगितापछि नेपाल नफर्किने बताएपछि निराश बनेका समर्थक उनको पछिल्लो अभिव्यक्तिले आशावादी पनि देखिएका छन् ।

कुवेती नागरिक अब्दुल्लाह अलमुताइरीले गत चैतमा नेपाली राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए । अखिल नेपाल फूटबल संघ (एन्फा) कार्यालयमा पहिलो पटक संचारकर्मीमाझ आएका उनले नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्याउने लक्ष्य रहेको बताएका थिए ।

आफ्नो लक्ष्य अनुसारनै उनले नेपाललाई २८ वर्षपछि पहिलो पटक फाइनलमा पुर्याए पनि । राउण्ड रोविन लीगको अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल इतिहासमै पहिलो पटक फाइनल पुग्दा नेपाली समर्थक जति खुसी थिए, उतिनै खेल पछिको पत्रकार सम्मेलनमा उनले बोलेका कुरालाई लिए दुःखी बने ।

साफको फाइनल खेलनै नेपालका लागि मुख्य प्रशिक्षकको रुपमा आफ्नो अन्तिम खेल हुने र नेपाल नफर्किने अलमुताइरीले बताएका थिए । कतार फूटबल एसोसियसनको सहयोगमा एक वर्षका लागि नेपाल आएका उनले ६ महिनामै टोली छोड्ने बताएपछि निराश बनेका नेपाली फूटबल समर्थक उनको पछिल्लो अभिव्यक्तिले भने केही आशावादी देखिएका छन् । शनिबार राती फाइनलमा भारतसँग पराजित भएपछि संचारकर्मीसँग कुरा गर्दै मुख्य प्रशिक्षक अलमुताइरीले नेपाली टोलीसँग आफ्नो भविष्यका विषयमा केही सातामा निर्णय गर्ने बताएका छन् ।

नेपाली टोलीमा आफ्नो निरन्तरका विषयमा प्रष्ट नगरेपनि उनले २ साताको विश्राम पछि निर्णय गर्ने बताए । विगतका पत्रकार सम्मेलनमा भन्दा फरक भावमा देखिएका उनले नेपाल सँधै आफ्नो मनमस्तिष्कमा रहने बताउँदै सबै समर्थकलाई आभार व्यक्त गरे ।

जस्तोसुकै कठिन अवस्थामा पनि नेपाल र नेपाली समर्थकले आफुलाई समर्थन दिएको उनको बुझाई छ । सामाजिक सञ्जालमा समेत निकै सक्रिय अलमुताइरीले छोटो समयमै निकै प्रशंसक पाएका छन् । प्रशंसकसँग दोहोरो संवाद समेत गरिरहने उनी संचार माध्यममा भने बेग्लै रुपमा प्रस्तुत हुँदै आएका छन् । टोलीको सुधारकै लागि आफु संचार माध्यममा फरक तरिकाले आउने गरेको उनले स्पष्ट पारे ।

टोलीको जिम्मेवारी पाएदेखि नै विभिन्न कारण उनी समर्थक र संचार माध्यमको केन्द्रमा रहे । जति उनको टिकाटिप्पणी हुने गर्दछन् त्यो भन्दा कयौं बढी उनले समर्थन पनि पाएका छन् । दर्शकमाझ लोकप्रिय बनेका उनले सुरुवातदेखिनै टोलीमा व्यापक हेरफेर गर्दै साफका लागि टोली तयार पारे ।

उनको प्रशिक्षणमा नेपालले विश्वकप तथा एसिया कप छनोट, साफ र मैत्रीपूर्ण खेलमा बलिया टोलीविरुद्ध सुधारिएको प्रदर्शन गर्यो । यसबीचमा नेपालले १२ खेल खेल्दा ३ जित, ७ हार र २ बराबरी खेलेको छ । टोलीको खेल्ने शैली र फरक रणनीतिका कारण उनी खेलाडी माझ पनि निकै रुचाइएका छन् । त्यसैले पनि खेलकुद मन्त्रालय, एन्फा लगायतका निकाय उनलाई फर्काउन प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्