आर्थिक

तङ्ग्रिदै पोखराको पर्यटन, लयमा फर्कने व्यवसायीको अपेक्षा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३१ गते १९:५३
तङ्ग्रिदै पोखराको पर्यटन, लयमा फर्कने व्यवसायीको अपेक्षा (भिडियो रिपोर्टसहित)

३१ असोज २०७८ पोखरा । कोरोना सङ्क्रमणका कारण लामो समयसम्म थलिएको पर्यटन व्यवसाय बिस्तारै तङ्ग्रिने क्रममा छ । १९ महिनादेखि थलिएको पोखराको पर्यटन क्षेत्र चाडपर्वसँगै उठ्न थालेको छ ।

अरु क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि दशैँले उल्लास ल्याएको छ । दशैंसँगै पोखराको पर्यटकीय सिजन सुरु हुन्छ । आन्तरिक पर्यटकको चहलपहल शुरु भइसकेको र अन्तर्राष्ट्रिय सम्बन्ध पनि जोडिने तरखरमा रहेकाले पर्यटन क्षेत्र पुरानै लयमा फर्कने आशा व्यवसायीको छ ।

यही असोजको सुरुवातमा हटेको प्रतिबन्ध पछि क्रमशः उठेको पर्यटन क्षेत्रले १५–२० प्रतिशत पर्यटक पाएको छ । आन्तरिक र बाह्य पर्यटकको आकर्षण बनेको पोखरामा चहलपहल बढेकाले व्यवसायी पनि उत्साहित छन् ।

यातायात र पर्यटन क्षेत्र कोरोनाबाट बढी प्रभावित क्षेत्र हुन् । यसको पुनरुत्थानका लागि सरकार तथा व्यवसायी समेत योजनाबद्ध रुपमा अघि बढ्न आवश्यक छ । यो मौसम पोखरा भ्रमणका लागि उत्तम रहेको भन्दै यसलाई प्रबर्धन गर्न आवश्यक रहेको व्यवसायी बताउँछन् ।

लामो समयसम्मको बन्दाबन्दी खुलेपछि पोखरा पर्यटकका लागि सुरक्षित गन्तव्य भएको सन्देश प्रवाह गर्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम व्यवसायीक संघसंस्थाले गरिरहेका छन् ।

गण्डकी प्रदेशकै अर्थतन्त्रको खम्बा रहेको पर्यटन व्यवसाय धर्मराउँदा रोजगारी र लगानी जोखिममा परेको थियो । विस्तारै उठ्न खोजेको पर्यटन क्षेत्रलाई टेवा दिन सरकारले पनि अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सहयोग पुग्ने नीति बनाउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *