समाज

विद्यालयको पढ्दै–कमाउँदै अभियान यस्तो उदाहरणीय बन्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३१ गते १६:४२
विद्यालयको पढ्दै–कमाउँदै अभियान यस्तो उदाहरणीय बन्दै (भिडियो रिपोर्टसहित)

३१ असोज २०७८ सुर्खेत । नेपालको शिक्षा प्रणालीमाथि बेला बेलामा प्रश्न उठ्ने गरेको छ । तर त्यसरी प्रश्न उठाउनेहरुलाई गतिलो जवाफ दिएको छ सुर्खेतको एउटा विद्यालयले । बराहतालको जनज्योति माविले पढ्दै–कमाउँदै कार्यक्रम शुरु गरेर विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको छ ।

किताव, कापी र कलम बोकेर विद्यालय जाने विद्यार्थीहरुले किताबी ज्ञान बाहेक बढीमा केही व्यवहारिक कुरा सिक्लान् भन्ने अपेक्षा हुन्छ । तर सुर्खेतको एक विद्यालयमा भने विद्यार्थीहरुले कितावी र व्यवहारिक ज्ञान मात्र सिकेका छैनन्, व्यवसायिक ज्ञानसमेत सिकेका छन् र त्यसभन्दा माथि पढ्दापढ्दै आत्मनिर्भर बन्ने गरेका छन् ।

सुर्खेतको बराहताल गाउँपालिका–४ बड्डीचौरमा रहेको जनज्योति माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु सैद्धान्तिक र व्यवहारिक ज्ञान सिक्दासिक्दै व्यवसायीसमेत बन्छन् । प्राविधिक शिक्षा पढाइ हुने यो विद्यालयबाट विद्यार्थीले ऋणसमेत प्राप्त गर्छन् र व्यवसाय गरेर आत्म निर्भर बन्छन् । यहाँ भेटेरिनरी र कृषितर्फ १८ महिने तथा तीन वर्षे कक्षा सञ्चालन भइरहेको छ ।

दुई वर्षअघि सुरु भएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम अन्तरगत विद्यालयले विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको छ । विद्यार्थीले माछा, बंगुर, कुखुरा तथा मौरीपालन, तरकारी र च्याउलगायत खेती गर्दै आएका छन् । पढ्दै कमाएको रकम विद्यार्थीहरुले पढाइ खर्च तिरेर बचत समेत गर्छन् ।

विद्यार्थीलाई व्यवसायमा संलग्न गराउन विद्यालयले नै जग्गाको प्रबन्ध गरिदिन्छ । विद्यालयले नै कम्तीमा ५ हजारदेखि एक लाख रुपैयाँसम्म सहुलियत ऋण दिने व्यवस्था मिलाएको छ ।

विद्यालयको यो कार्यक्रमबाट हालसम्म २ सयभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । सिकाइ र कमाइसँगै गरिरहेको यो विद्यालय धेरै विद्यालय, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुका लागि सिकाइको केन्द्र बन्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *