समाज

गुल्मीमा नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३१ गते १६:२५
गुल्मीमा नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढ्दै (भिडियो रिपोर्टसहित)

३१ असोज २०७८ गुल्मी । गुल्मीमा नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढ्दै गएको छ । नागरिकता हराएका कारण प्रतिलिपि लिने बढ्दै गएका हुन् ।

नेपाली नागरिक हो भनी राज्यले दिएको प्रमाण पत्र नै नागरिकता हो । राज्यले आफ्ना नागरिक भएको पहिचान गर्ने र हरेक क्षेत्रमा अनिवार्य प्रयोग हुने नागरिकता प्राप्त गर्न र पुनः प्रतिलिपि लिनसमेत कुनै समस्या छैन । जसका कारण पछिल्लो समय नागरिकता हराउने र प्रतिलिपि बनाउनेको संख्या बढदै जान थालेको छ ।

गुल्मीमा नागरिकता नयाँ बनाउने सँगै हराउनेको संख्या पनि बढिरहेको छ । गुल्मीमा जति नयाँ नागरिकता बन्छन्, त्यसको ३५ प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षमा ८ हजार १ सय ८४ नयाँ नागरिकता बन्दा ४ हजार ६ सय १५ प्रतिलिपि बनेका छन् ।

त्यस्तै चालू आर्थिक वर्षको साउन र भदौमा १ हजार ३ सय ८४ नागरिकता बन्दा, ६ सय ६३ जनाले प्रतिलिपि बनाएका छन् । नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढदै जाँदा यसले अन्य सेवाग्राही र सेवा दिने कर्मचारीलाई समेत प्रभावित पारेको छ ।

एउटा व्यक्तिले जीवनमा एक पटक प्राप्त गर्ने नागरिकताजस्तो कुरा हिफाजत गरेर नराख्ने प्रवृतिले प्रतिलिपिका नाममा पटक पटक जारी गर्नु पर्ने अवस्था सिर्जना भएको छ । जिम्मेवार बन्नुपर्ने नागरिककै लापरबाहीका कारण प्रतिलिपि बनाउने संख्या अपत्यारिलो गरी बढेको छ ।

प्रतिलिपि लिँदा कुनै कानुनी झन्झट व्योहोर्नु नपर्ने, जरिवाना तिर्नुनपर्ने, जति पटक लिँदा पनि सजिलै पाइने हुँदा नागरिकले नागरिकताको जतन गर्न छाडेका छन् । राज्यको नागरिक भएको प्रमाण हुनुका साथै हरेक पाइलामा आवश्यक पर्ने महत्वपूर्ण तथा संदेनशील कागजातलाई नागरिक आफैले जतन गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *