शिक्षण पेसा छाडेर गाईपालन, सरकारी अनुदानप्रति असन्तुष्टि

३१ असोज २०७८ धनकुटा । अस्थायी होस वा स्थायी होस्, पढाइपछिको जीवन धेरैजसोले जागीरमै बिताउन चाहन्छन । तर धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर १ खाप्राङका धनबहादुर कटुवाल यसका अपवाद हुन् । कटुवाल अहिले जागिर छाडेर पशुपालन पेशामा जमेका छन् ।
कुनै बेला शिक्षण पेशामा आवद्ध धनबहादुर कटुवाल अहिले आफ्नै गाईफार्ममा बिहानदेखि बेलुकासम्म घाँस र दानापानी गर्न व्यस्त हुनुहुन्छ । २०५७ सालमा भूगोल विषयमा स्नातक गरेका कटुवाल पढाइपछि तत्कालिन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गर्नुभयो ।
त्यसपछि साढे ५ वर्ष शिक्षकको रुपमा काम गरेका कटुवालले २०६९ सालमा व्यवसायिक पशुपालन थाल्नुभएको हो। शुरुमा ८ लाख रुपैयाँको लगानीमा गोरखाबाट गाई ल्याएर व्यवसाय शुरु गरेका धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर १ खाप्राङका कटुवालले अहिलेसम्म ५० लाख लगानी गरिसक्नुभएको छ ।
नजिकैको विद्यालयकी शिक्षिका रहेकी कटुवालकी श्रीमती यामकुमारीले पनि बिहान बेलुका फुर्सदको समयमा कटुवाललाई सघाइरहनु भएको छ । घरपरिवार मिलेर गरेको व्यवसाय अझ बढाउने तयारी भए पनि कामदार पाउन कठिन भएको कटुवाल दम्पतीको अनुभव छ ।
उत्पादन लागत बढ्दा बचत भने सोचेजस्तो छैन । पछिल्लो समय स्थानीय सरकारले व्यवसायिक किसानलाई सहज हुने गरी नीति नियम बनाइँदिँदा आम्दानी बढ्न सक्ने र रोजगारी समेत वृद्धि हुने धनबहादुरको विश्वास छ । तर सरकारले दिने अनुदानमा भने धनबहादुरको असन्तुष्टि छ ।
कटुवालको फर्ममा १५ वटा गाई छन् । गाईका लागि ७२ रोपनी जमिनमा घाँस खेती गरिएको छ। गाई पालन व्यवसायबाट कटुवाल दम्पतीले अन्य दुई जनालाई रोजगारी दिनुभएको छ ।
प्रतिक्रिया