आर्थिक

संकटमा परेको पाल्पाली करुवा उत्पादनमा यसकारण बढ्यो युवा आकर्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २९ गते १९:३७
संकटमा परेको पाल्पाली करुवा उत्पादनमा यसकारण बढ्यो युवा आकर्षण (भिडियो रिपोर्टसहित)

२९ असोज २०७८ पाल्पा । सीप र प्रोत्साहनको अभावमा नयाँ पुस्ताको आकर्षण नहुँदा संकटमा परेका पाल्पाली करुवा उद्योगले फेरि गति लिन थालेका छन् ।

पाल्पाली पहिचान बोकेको पाल्पाली करुवा उत्पादनमा आकर्षित गर्न तालिम, बीउ पूँजी लगायतका सहयोग पाएपछि युवाहरु हस्तकलाको प्रयोग गरी करुवा उत्पादनमा ब्यस्त बनेका छन् ।

पाल्पा बगनासकाली गाउँपालिका ६ यम्घाका खिमबहादुर विश्वकर्मा १२ वर्ष दुवई बसेर स्वदेश फर्के पछि सीप र प्रोत्साहनको अभावमा बेरोजगार हुनुभयो । दिनभर केही काम नगरी घरमा बस्दा समय विताउन मुश्किल त भयो नै आर्थिक अभाव समेत बढेर गयो ।

त्यही समयमा तानसेन नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ९युएनडीपी० र ग्रामीण आर्थिक विकास संघ ९रेडा०द्वारा सञ्चालित तालिम पाएपछि विश्वकर्मासहित चार युवा मिलेर करुवा उद्योग स्थापना गरे । अहिले यो उद्योगबाट काँचका करुवा, थाल, गिलास लगायतका वस्तुहरु उत्पादन हुँदै आएको छ ।

पाल्पाको पहिचान बोकेको करुवा चिनोको रूपमा लैजाने चलन छ । सीप, प्रोत्साहन तथा कच्चा पदार्थको अभावमा पाल्पाली करुवा उद्योग संकटमा परेको थियो ।

तानसेनको टक्सार टोलमा पहिला २५ भन्दा बढी करुवा उद्योग सञ्चालनमा रहे पनि पछिल्ला वर्ष तीन वटामा सीमित हुँदा माग अनुसार आपूर्ति हुन सकेको थिएन । उद्योग सञ्चालनमा युवाको आकर्षण बढेपछि अहिले यो समस्या समाधान हुँदै गएको छ ।

करुवा बनाउने सीप सिक्न र उद्योग सञ्चालन गर्न इच्छुक व्यक्तिलाई छनोट गरी तीन महिनाको करुवा बनाउने तालिम दिएको थियो । तालिमपछि केहीले व्यक्तिगत र केहीले सामूहिक रुपमा करुवा उत्पादन गरिरहेका छन् ।

सीप र प्रोत्साहनको अभावले विगतमा करुवा नै लोप हुने अवस्था पुगेको थियो । पाल्पाको पहिचान बोकेको करुवा लोप हुनबाट जोगाइएको छ । परम्परागत सीपले पाल्पाको प्रचारप्रसारमा ठूलो महत्व समेत राखेको छ । तानसेन नगरपालिकाले बेरोजगार युवा छनौट गरी तालिम लगायतका कार्यक्रम पछि युवापुस्ता अहिले करुवाको उत्पादनमा सक्रिय भएको छ ।

नेवार, विश्वकर्मा समुदायमा सीमित रहेको करुवा बनाउने सीपलाई अन्य जाति तथा समुदायमा हस्तान्तरण गर्न राज्यले प्रोत्साहनका कार्यक्रम ल्याउनु आवश्यक छ । युवा पुस्तालाई करुवा, ढाका उद्योगमा टिकाइ राख्न सके रोजगारी र स्थानीय उत्पादनले पाल्पाको पहिचान कायम रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *