समाज

कैलालीको लालबोझीस्थित हुलाकी सडक मर्मत नहुँदा समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २९ गते ७:५६
कैलालीको लालबोझीस्थित हुलाकी सडक मर्मत नहुँदा समस्या (भिडियो रिपोर्टसहित)

२९ असोज २०७८ कैलाली । कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीस्थित हुलाकी सडक नदीले बगाएको लामो सयम भए पनि मर्मत नहुँदा आवतजावतमा समस्या भइरहेको छ । कान्द्रा नदी छेउ भएर बनेको हुलाकी सडक बगाएको लामो समय भए पनि मर्मत भएको छैन ।

तराई क्षेत्रको आर्थिक समृद्धिका लागि भनेर ०६६–६७ मा शुरु गरिएको हुलाकी सडक आयोजनाको केही भाग कान्द्रा नदीले बगाएको छ । धनगढीबाट टीकापुर हुँदै नेपालगन्जसम्म जोड्ने हुलाकी सडकखण्डमा पर्ने कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीमा पर्ने करिब २ सय मिटर सडक कान्द्रा नदीले बगाएको हो । नदीले हरेक वर्ष सडक कटान गर्दा पनि नियन्त्रणका लागि कसैले प्रयास नगरेको स्थानीय बासिन्दाको गुनासो छ ।

भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चोकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो । ६२ किलोमिटरमध्ये दुई किलोमिटर बसन्ता क्षेत्रभित्र परेपछि त्यहाँ काम अघि बढ्न सकेको थिएन । सरकारले सडक स्तरोन्नति गर्ने भनेपछि अहिले तीन चरणमा काम अघि बढाइएको छ । नदीले सडक कटान गरेपछि बस्तीहरु पनि जोखिममा परेका छन् ।

नदीले सडक बगाएपछि पुल निर्माण गर्ने वा सडक बनाउनेमा छलफल भइरहेको आयोजना कार्यालयले जनाएको छ । पुल निर्माण गरे बस्ती जोखिममा पर्छ । त्यसैले नदीलाई पुरानै अवस्थामा लगेर तटबन्धसहितको सडक निर्माण गर्नका लागि नयाँ टेण्डर आह्वान गर्ने तयारी भइरहेको छ ।

भत्किएको हुलाकी सडकखण्ड बनेपछि आवतजावतमा सहज हुनुका साथै पुरानै संरचनामा सडक सञ्चालन हुनेछ । त्यसका लागि आयोजनाले तत्काल पहल कदमी लिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *