समाज

यस्तो उपेक्षाको शिकार स्थानीय लघु जलविद्युत आयोजना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २८ गते १७:१२
यस्तो उपेक्षाको शिकार स्थानीय लघु जलविद्युत आयोजना (भिडियो रिपोर्टसहित)

२८ असोज २०७८ धनकुटा । गाउँगाउँमा राष्ट्रिय प्रशारण लाइन पुगेपछि धेरै साना तथा लघु जलविधुत बेवास्ताको शिकार भएका छन् । तर धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेककटहरेमा भने राष्ट्रिय प्रसारण लाइनभन्दा स्थानीय लघु जलविद्युत आयोजनानै स्थानीयको रोजाइमा परेको छ ।

यो धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर २ मारेककटहरेस्थित लक्ष्मी खोला लघु जलविद्युत आयोजना । वि. सं. २०६८ सालमा एक करोड २५ लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको आयोजनाले नियमित ४० किलोवाट विद्युत उत्पादन गर्दै आइरहेको छ ।

जसबाट ३ सय ६० घरधुरीले लाभ लिइरहेका छन् । राष्ट्रिय प्रसारण लाइनमा विद्युत अनिमितता भइरहेको बेला स्थानीय समुदायले आफ्नै अग्रसरतामा सञ्चालन गरिरहेका लघु विद्युत आयोजनाले गाउँ झलमल्ल पारेको छ ।

राष्ट्रिय प्रसारण लाइनको विद्युत महशुल २० युनिटसम्म निःशुल्क बनाउने चर्चा चलिरहेको बेला लघु जलविद्युत आयोजनाका उपभोक्ता भने ८ युनिटसम्मको एक सय रुपैयाँ, ८ युनिट देखि २० युनिटसम्म ८ रुपैयाँका दरले र २० युनिटदेखि माथि ६ रुपैयाँका दरले महशुल तिर्दै आइरहेका छन ।

विद्युत उत्पादन गर्न बैकल्पिक उर्जाले ५० लाख र तत्कालिन मारेककटहरे गाउँ विकास समितिले ४ लाख रुपैयाँ अनुदान दिएका थिए । बाँकी ७१ लाख रुपैयाँ लक्ष्मी खोला लघु जलविद्युत सहकारी संस्थाका शेयर सदस्यबाट संकलन गरी आयोजना सञ्चालन गरिएको हो ।

विद्युत महंगो भए पनि नियमित आपूर्ति हुँदा उपभोक्ता भने खुसी छन् तर आयोजना राष्टिय प्रसारण लाइनमा नजोडिँदा नियमित मर्मत भने हुन सकेको छैन । कतिपय ठाउँमा बाँसका पोलले काम चलाउनु परेको छ । बजेट अभावले बाँसका पोल बिस्थापित गर्न नसकेको गुनसो गर्दै उपभोक्ताले सहयोगका लागि सरकारसँग आग्रह गरेका छन् ।

ग्रामीण क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनले चुस्तदुरुस्त सेवा प्रदान गर्न नसक्दा धेरै गुनासो आउने गरेको छ । यस्तोमा लघु जलविद्युत स्थानियको प्राथमिकतामा पर्ने गरेका छन् त्यसैले यस्ता आयोजना संरक्षण तथा प्रवर्द्धन गर्नतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *