समाज

पर्साको एउटा यस्तो गाउँ जहाँ आधारभूत आवश्यकताका कुनै पूर्वाधार छैन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २८ गते ८:००
पर्साको एउटा यस्तो गाउँ जहाँ आधारभूत आवश्यकताका कुनै पूर्वाधार छैन (भिडियो रिपोर्टसहित)

२८ असोज २०७८ पर्सा । गाउँमा एउटै पसल छैन । स्वास्थ्य चौकी त परको कुरा, औषधि पसलसम्म छैन। सडक छैन। भनेको बेला मोबाइल नेटवर्कले काम गर्दैन । आश्चर्य त के भने गाउँभरिमा एउटा पनि धारा वा चापाकल छैन ।

सरकारीको नाउँमा एउटा प्राथमिक स्कुलको थोत्रो भवन छ । यहाँका मान्छे जंगली जन्तुबाट जोगिएर जीवन बिताइरहेका छन् । हामी तपाईँलाई अब यस्तै गाउँ देखाउँदै छौँ ।

पर्सा सदरमुकाम वीरगन्जबाट ६५ किलोमिटर पश्चिममा छ शिकारीबास गाउँ । ठोरी गाँउपालिका वडा नम्बर ३ मा पर्ने यो गाउँ पर्सा र चितवन राष्ट्रिय निकुञ्जबीचमा छ । यहाँका बासिन्दा अहिले पनि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सुविधाबाट बञ्चित छन् ।

पर्सा वन्यजन्तु आरक्ष भित्र रहेको १ सय ४० विघा नम्बरी जग्गामा रहेको यो वस्तिमा ५४ घर धुरीमा २ सय ५० भन्दा बढीको बसोबास छ । तर यो वस्तीमा न त अहिलेसम्म बिजुली पुगेको छ नत सडक नै । वस्तिमा १ जना व्यक्ति विरामी हुदा ८ किलोमिटर टाढा रहेको विजय वस्ति वा ब्रह्म्म चोकको स्वास्थ्य चौकीमा लैजानुपर्ने बाध्यता छ ।

आधारभूत सुविधाबाट बञ्चित शिकारीबासका वासिन्दा जंगली जनावरले आक्रमण गर्न सक्ने त्रासमा दैनिक बाचिरहेका छन् ।

यो गाउँमा प्रत्येक चुनावको आसपासमा मात्र राजनीतिक दलका प्रतिनिधि पुग्ने गरेका छन् । ती दलका प्रतिनिधिले पहल गरेर सरकारले सुरक्षित बसोबासको व्यवस्था गरोस् भन्ने अपेक्षा स्थानीयबासिन्दाको छ । आधारभूत आवश्यक्ताबाटै टाढा रहेको शिकारीबासमा पहिलोपटक स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

देश संघीय संरचनामा गएपछि दूरदराजमा पनि राज्यको आखा पुग्ने अपेक्षा गरिएको थियो । तर राज्य र सरकारको महशुश अझै शिकारीबासले गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *