आर्थिक

पाल्पाली ढाका कपडाको व्यापार किन ओरालो लाग्यो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २८ गते ७:५५
पाल्पाली ढाका कपडाको व्यापार किन ओरालो लाग्यो ? (भिडियो रिपोर्टसहित)

२८ असोज २०७८ पाल्पा । पाल्पामा उत्पादित ढाका कपडाको व्यापार पछिल्ला वर्षमा ओरालो लागेको छ । दशैँमा आन्तरिक पर्यटकको चहलपहल नहुँदा पाल्पामा ढाका कपडाको व्यापार सुस्ताएको हो ।

दशैँ, तिहारमा ढाका कपडा उपहार प्रदान गर्ने चलनका कारण व्यापार राम्रो हुँदै आए पनि यो वर्ष कोरोनाले प्रभावित भएको छ ।

पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ४, की कमला रायमाझीले तानसेनको सिल्खानटोलमा पाँच वर्ष अघि ढाका कपडा कारोबार गर्न पसल खोल्नुभयो ।

पाल्पामा आन्तरिक पर्यटकको निकै चहलपहल हुँदा ढाका कपडाको कारोबारबाट राम्रो आम्दानी हुन्थ्यो । तर, पछिल्ला वर्ष कोरोनाका कारण पर्यटक नआउँदा व्यापार ठप्प छ ।

कोरोनाले पाल्पा जिल्ला प्रभावित हुँदा ढाकाको व्यापार मात्र होइन । ढाका कपडा उत्पादनमा समेत कमी आएको छ । कोरोनाले ढाका उद्योग समेत लामो समय बन्द हुँदा श्रमिक कामबिहिन छन् ।

तानमा बुनिएका ढाकाका सामग्री पाल्पा आउने पर्यटकले उपहारका रुपमा लैजाने गर्छन् । पर्यटकले कोशेली तथा मायाको चिनोका रुपमा ढाकाका झोला, हाते पर्स, पछ्यौरा, इस्टकोट, टोपी लैजाने चलन छ । यहाँको ढाका असली र गुणस्तरीय तथा छुट्टै पहिचान बोकेकाले ढाका कपडा खोजीखोजी लैजाने गर्छन् । तर, यसपाली ढाकाको व्यापारमा कुनै उत्साह छैन ।

२०१५ मा गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर फर्केपछि पाल्पामा ढाका व्यवसाय शुरुवात भएको थियो । तानबाट उत्पादित ढाका कपडा लगाउन स्वास्थ्यलाई समेत राम्रो हुने र निकै आकर्षक देखिएको छ । हस्तकलाबाट उत्पादित ढाका कपडाको सीप जोगाउन, कारोबार टिकाई राख्न पाल्पाली ढाकालाई विविधिकरण गर्न थालिएको हो ।

पाल्पाली ढाका कपडा उत्पादनका क्षेत्रमा प्रख्यात जिल्ला हो । ढाका कपडा उत्पादन, बजारीकरणले सयौँ युवा रोजगारी पाउन सफल छन् । यसपालि ढाका कपडाको कारोबार नहुँदा उद्योगमा काम गर्ने श्रमिक, व्यापारीमा कुनै उत्साह छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *