आर्थिक

भारतबाट खसीबोका आयात भएपछि नेपाली किसान मर्कामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २८ गते ७:५०
भारतबाट खसीबोका आयात भएपछि नेपाली किसान मर्कामा (भिडियो रिपोर्टसहित)

२८ असोज २०७८ दाङ । दाङमा दसैंका लागि तयार गरिएका खसी बोका विक्री नभएपछि किसान चिन्तित भएका छन् । भारतबाट खसीबोका निर्वाध रुपमा आयात हुन थालेपछि किसान समस्यामा परेका हुन् ।

स्थानीय तहले पनि विक्रीका लागि पहल नगरेको गुनासो किसानको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि आवश्यक खसी बोका खरिद गरिसकेको र अब खरिद गर्न नसक्ने जनाएको छ ।

दाङको लमही नगरपालिका वडा नम्वर ८ की सुनीता बुढाथोकीले यसपालीको दसैँका लागि २४ वटा खसी तयार पारेकी थिइन । ७ बर्ष देखि बाख्रा पालन गर्दै आएकी बुढाथोकीले गत वर्षको दसैंमा १७ वटा खसी विक्री गरेकी थिइन् । तर, यो वर्ष विक्रीका लागि तयार भएका खसीबोका आधा पनि विक्री भएका छैनन् ।

दाङमा यस वर्ष खसीबोका धेरै उत्पादन भएपछि किसानलाई विक्री गर्न समस्या भएको छ। खसी बोका विक्रीका लागि स्थानीय तहले पहल नगरेको गुनासो किसानको छ । भारतीय खुला सिमा क्षेत्र कोइलाबासबाट निर्वाध रुपमा सस्तोमा खसीबोका आयात हुने भएपछि स्थानीय किसानलाई विक्रीमा समस्या भएको हो । यसको रोकथाम तर्फ कसैको पनि ध्यान गएको छैन् ।

दसैं र तिहारका लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड दाङ शाखाले १ हजार खसी बोका खरिद गरी पठाइ सकेको छ । केन्द्रले मागेको कोटा पुरा भएका कारण बाँकी खरिद गर्न नसकेको जनाएको छ ।

निजी र सहकारी गरी दाङमा १०० भन्दा बढी व्यवसायीक बाख्रा फार्म रहेका छन् । यस वर्ष दाङमा झन्डै १० हजार खसी बोका तयार भएका छन् । त्यस मध्ये आधा जिल्ला बाहिर निर्यात हुने गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ । तर यसवर्ष उत्पादन भए अनुसार विक्री हुन नसक्दा किसान मर्कामा परेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *