समाज

लोप हुँदै सारंगी बजाउने पुर्ख्यौली पेशा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २६ गते १६:००
लोप हुँदै सारंगी बजाउने पुर्ख्यौली पेशा (भिडियो रिपोर्टसहित)

२६ असोज २०७८ पाल्पा । गन्धर्व जातिको सारंगी बजाउने पुर्ख्यौली पेशा विस्तारै लोप हुँदै गएको छ । सबैलाई मोहित बनाउने सारंगीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो ।

गन्धर्व जातिकोे बस्ती रहेको पाल्पामा सारंगीप्रति युवा पुस्ताको आकर्षण नहुँदा परम्परागत सारंगी बजाउने पेशा संकटमा परेको हो ।

पहिले–पहिले दशैँको नवदुर्गा शुरु भएसँगै मालश्री गाउन रातमा गाउँबस्तीमा जाने चलन थियो । तानसेनका ७० वर्षीय रामबहादुर गन्दर्भ यसरी गाउँगाउँ पुगेर सारंगीमा मालश्री रेट्नु हुन्थ्यो । तर अहिले मालश्री गाउने मानिस पाउन मुश्किल भएको छ । युवा पुस्ता सारंगी बजाउने पेशामा आकर्षित हुन नसकेको बताउनुहुन्छ । सामाजिक विभेदका कारण युवा पुस्ता यो पेशामा आकर्षित हुन नसकेको उहाँको ठम्याई छ ।

गीतसंगीतमा सारंगीको भूमिका उल्लेख्य रहे पनि अहिले यो लोकबाजा बजाउने मानिसको अभाव बढ्दै गएको छ । सारंगी बजाउने सिप भएका गन्धर्व समुदाय राज्यको वेवास्तामा पर्दा पेशा परिवर्तन गर्न थालेका छन् ।

सारंगी रेटेर गाउने गीतमा नेपाली संस्कृति र मौलिकता झल्किने गर्छ । तर बजार केन्द्रित संगीतका कारण यो सांस्कृतिक र मौलिक बाजाप्रतिको मोह विस्तारै घट्दै गएको देखिन्छ ।

विसं २०६८ को जनगणना अनुसार तानसेनमा ९८ पुरुष र ९५ महिला गरी कुल १९३, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा ११ महिला र ११ पुरुष तथा रम्भाको तनहुँमा आठ पुरुष र १९ महिला गन्धर्व जनसंख्या छ ।

यो जातिको पुख्र्यौली पेशा लोप हुनुका कारण सामाजिक र सांस्कृतिक व्यवस्था नै बाधक देखिन्छन् । गन्धर्व कला र गलामा धनी भए पनि निश्चित भूगोल र सामाजिक परिबन्धको घेरामा परेको देखिन्छ । सूचना, संगीत र मनोरञ्जनका लागि अत्याधुनिक प्रविधिहरुको विकास हुनु र मौलिक बाध्य सामग्रीप्रतिको वेवास्ता बढ्नुले गन्धर्व जाति पनि विस्तारै सारंगीबाट टाढा हुन लागेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *