बेंग्लोरलाई हराउँदै कोलकाता आईपीएलको क्वालिफायर प्रवेश

२६ असोज २०७८ दुबई । कोलकाता नाइट राइडर्स इण्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।
आईपीएलअन्तर्गत गएराति एलिमिनेटरमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ४ विकेटले हराउँदै कोलकाता क्वालिफायरमा पुगेको हो । १ सय ३९ रनको मध्यम लक्ष्य कोलकाताले दुई बल अगावै ६ विकेट गुमाएर पूरा गरेको थियो ।
उसका लागि शुभमन गिलले सर्वाधिक २९ रन बनाए । त्यस्तै बेंगटेस अइयर र सुनिल नरायन समान २६ तथा नितिश राना २३ रन बनाउँदै पेभेलिएन फर्के ।
बेंग्लोरका मोहम्मद सिराज, हर्षल पटेल र युजभेन्द्र चहेलले समान २(२ विकेट लिए । यसअघि शारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा सात विकेटको नोक्सानीमा १ सय ३८ रन बनाएको थियो ।
उसका लागि कप्तान विराट कोहलीले ३९ रन जोडे । कोलकाताका सुनिल नरायनले चार विकेट हात पारे । अब कोलकाताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो क्वालिफायरमा दिल्लीलाई चार विकेटले पराजित गरेको चेन्नई सुपर किंग्सले फाइनलमा स्थान बनाइसकेको छ ।
प्रतिक्रिया