साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

२५ असोज २०७८ काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हार व्यहोरेको छ ।
गएराति सम्पन्न आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको हो । मालेस्थित राष्ट्रिय रंगशालामा भारतको जितमा कप्तान सुनिल क्षेत्रीको गोल नै निर्णायक रह्यो ।
कप्तान क्षेत्रीले ८२ औं मिनेटमा गोल गर्न सफल भएका थिए । प्रतियोगितामा रहिरहन भारतलाई जित्नैपर्ने दबाव थियो । यसअघिका दुबै खेलमा बराबरीमा रोकिएको भारतले पहिलो जित निकालेको हो ।
जितसँगै ३ खेलमा ५ अंक जोड्दै भारत तेस्रो स्थानमा उक्लिएको छ । नेपालको भने यो पहिलो हार हो । खेलअघि ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपाल हारसँगै दोस्रो स्थानमा झरेको छ ।
६ अंक रहेको साविक विजेता माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ। हारसँगै नेपाललाई फाइनल पुग्न अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ ।
अब नेपाललाई फाइनलमा स्थान बनाउन बराबरी वा जित आवश्यक छ। नेपालले आफ्नो अन्तिम खेलमा बुधबार बंगलादेशसँग खेल्ने छ ।
त्यस्तै चौथो स्थानको बंगलादेशको ३ खेलबाट ४ अंक छ । पाँच राष्ट्र सहभागिता प्रतियोगिताबाट श्रीलंका भने बाहिरिसकेको छ ।
प्रतिक्रिया