समाज

भएन बजार अनुमगन, धनकुटाका उपभोक्ता अखाद्य वस्तु प्रयोग गर्न बाध्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २४ गते १६:१८
भएन बजार अनुमगन, धनकुटाका उपभोक्ता अखाद्य वस्तु प्रयोग गर्न बाध्य (भिडियो रिपोर्टसहित)

२४ असोज २०७८ धनकुटा । स्वच्छ उपभोग्य वस्तु उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार हो । तर नियमित बजार अनुगमन नहुँदा धनकुटाका उपभोक्ता म्याद नाघेका अखाद्य वस्तु प्रयोग गर्न बाध्य छन् ।

सम्बधित निकायले अनुगमनमा चासो नदिनु तथा प्रविधि र कर्मचारी अभावका कारण बर्सेनि अनुगमन प्रभावित हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यलयले आवश्यक्ता अनुसार तथा स्थानीय तहले एक वर्षमा कम्तिमा चार पटक सम्म बजार अनुगमन गर्ने जिम्मा पाएका हुन्छन् । तर धनकुटामा वर्षमा एक पटक त्यो पनि चाडपर्वको मुखमा मात्र बजार अनुगमन हुने गरेको छ । जसका कारण अखाद्य वस्तु प्रयोग गर्न उपभोक्ता बाध्य छन् ।

पछिल्लो समय सहरी क्षेत्रका बजार पसलमा भन्दा ग्रामीण क्षेत्रमा बढी अखाद्य वस्तु पाइने गरेको छ । ग्रामीण क्षेत्रका उपभोक्ताले उपभोग्य मिति नहेर्ने तथा नियामक निकायको ध्यान खासै नपुग्ने भएकाले म्याद सकिएका खाद्य सामग्री ग्रामीण क्षेत्रका बजार पसलमा पुग्ने गरेको हो ।

बजारमा अखाध्य वस्तुको जोखिम चाडपर्वमा मात्र नभइ बाह्रै महिना हुने भएकाले पटकपटक अनुगमन गर्न उपभोक्ताले माग गर्दै आएका छन् । स्थानीय तह भने वर्षमा एक पटक मात्रै गरिए पनि अनुगमन प्रभावकारी हुँदै गएको दाबी गर्छ ।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको विशेष भूमिका रहन्छ । तर धनकुटासहित भोजपुर तेह्थुम र संखुवासभा जिल्ला हेर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय भने दुई जना कर्मचारीको भरमा छ । आवश्यक प्रविधिसमेत उपलब्ध छैन । कर्मचारी तथा प्रविधि अभावमा अनुगमन प्रभावकारी भएको देखिँदैन ।

समय समयमा अनुगमन नहुँदा अखाद्य सामग्री यत्रतत्र पाउने गरिएको छ । नियामक निकायले भने चाडवाडमा बाहेक अन्य समयमा अनुगमनमा ध्यान दिने गरेको छैन । उपभोक्तालाई बाह्रै महिना गुणस्तरीय खाद्य उपलब्ध गराउन प्रविधिसहितको अनुगमन पटकपटक गर्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *