साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

२४ असोज २०७८ काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज भारतसँग खेल्न लागेको हो । मालेस्थित राष्ट्रिय रंगशालामा नेपाल आज लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ । तर सात पटकको विजेता भारतलाई हराउन भने नेपाललाई सहज हुने छैन ।
प्रतियोगितामा लगातार दुई जितसहित ६ अंक जोड्दै नेपाल शीर्ष स्थानमा रहँदा दुबै खेल बराबरी खेलेको भारत २ अंकसहित चौथो स्थानमा छ ।
नेपालले पहिलो खेलमा साविक विजेता माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ ।
उता भारतले भने पहिलो खेलमा बंगलादेशसँग १–१ र दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । भारतविरुद्ध नेपालले हालसम्म २१ वटा खेल खेल्दा भारत १४ खेलमा विजयी हुँदा नेपालले दुई खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ ।
पछिल्लो पटक नेपालले घरेलु मैदानमा भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले एक खेल बराबरी र अर्को खेलमा पराजित भएको थियो । खेल नेपाली समय अनुसार राति पौने दश बजे शुरु हुनेछ ।
प्रतिक्रिया