समाज

सीमा नाकामा भारतीय सुरक्षाकर्मीको ज्यादत्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २३ गते २०:१६
सीमा नाकामा भारतीय सुरक्षाकर्मीको ज्यादत्ति (भिडियो रिपोर्टसहित)

२३ असोज २०७८ कञ्चनपुर । सीमा नाकामा भारतका विभिन्न शहरबाट दशैंका लागि घर फर्कने नेपालीको चाप बढेको छ । कोरोना महामारीकै बीच रोजगारीका लागि भारत गएकाहरू जोखिम मोलेरै स्वदेश फर्किरहेका छन् । त्यसमाथि भारतीय सुरक्षाकर्मीको ज्यादत्ति उस्तै छ ।

यो बाँकेको जमुनाह नाका । अनि यो कञ्चनपुर गड्डाचौकी ।

जमुनाह र गड्डा चौकीमा मात्र हैन । नेपाल भारत सीमाका अधिकांश नाकामा अहिले यस्तै भीड छ । नाकामा नेपालीको मुख्य चाड वडा दशैं शुरु भएसँगै भारतका विभिन्न शहरबाट स्वदेश फर्कनेको लर्को नाकामा देखिएको हो । पूर्वी नाकाका तुलनामा पश्चिम नेपालका नाकाबाट स्वदेश फर्कने बढी छन् ।

वर्षभरी विदेशी भूमिमा पसिना बगाएर जोगाएको रकम लिएर चाड मनाउन घर फर्किएकाहरु खुसी छन् ।

स्वदेश फर्कने नेपालीहरुलाई सिमामा भने भारतीय सुरक्षाकर्मीले अनावश्यक दुःख दिने, सामान खोतल्ने, पैसा माग्ने गरेको गुनासो विगतका वर्षहरु जस्तै यस पटक पनि दोहोरिएको छ ।

नेपाल प्रहरी भने भारतीय सुरक्षाकर्मीले अनावश्यक दुःख दिने क्रम रोक्न सक्रियता बढाएको बताउँछ ।

दशैंका बेला घर फर्कँदा बेहोर्नु पर्ने अन्य सास्ती र हैरानी त छँदैछ । यो वर्ष कोरोना संक्रमणको पनि जोखिम छ । यस्तोमा धेरैले न त मास्क लगाएका छन् न त सामाजिक दूरी नै पालना गरेका छन् । यसले घरघरमा संक्रमण पुग्ने खतरा उत्तिकै छ । जोखिम कम गर्ने भनेर कञ्चनपुरको भीमदत्त नगरपालिकाले भने भारतबाट फर्कनेहरुको सिमामा एन्टिजेन परीक्षण गरेको जनाएको छ ।

रोजगारीको लागि भारत जानेहरुमा सबैभन्दा बढी सुदूरपश्चिम र कर्णाली प्रदेशका छन्। उनीहरु चाडपर्व मानेर फेरि रोजगारीका लागि भारतनै फर्कने योजनामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *