खेलकूद

चितवनले जित्यो ईपीएलको उपाधि, पोखरा ४ विकेटले पराजित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज २३ गते १५:५७
चितवनले जित्यो ईपीएलको उपाधि, पोखरा ४ विकेटले पराजित (भिडियो रिपोर्टसहित)

२३ असोज २०७८ काठमाडौं । चौथों संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले शानदार शुरुवात गरेको थियो । ओपनरद्वय रिचर्ड लेभी र विपिन रावलले विस्फोटक ब्याटिङ् गर्दै चौथो ओभरको पहिलो बलसम्ममै ३७ रनको साझेदारी गरेका थिए । तर लेभी व्यक्तिगत २६ रन बनाउँदै चौथो ओभरको तेश्रो बलमा आउट भए ।

त्यसपछि पोखराको इनिङ्गस तासको घर झैँ ढल्न पुग्यो । रावल १७, रित गौतम र सहन आराचिगे २–२ रनमा आउट भए । ५९ रन बनाउँदा ४ विकेट गुमाइसकेको पोखराका असेला गुणरत्ने र कप्तान विनोद भण्डारीले ३५ रनको साझेदारी गर्दै इनिङ्गस सम्हाल्ने प्रयास गरे।

गुणरत्ने ३४ रनमा आउट भएपछि क्रिजमा आएका कुनै पनि ब्याटसम्यानले दोहोरो अंकको स्कोर बनाएनन् । लोकेश बम र नन्दन यादवले खाता नै खोल्न सकेनन्।

विवेक यादव ४ तथा बिक्रम सोबले १ रन बनाए । कप्तान भण्डारी टिमको कुल स्कोर १ सय ११ रन हुँदा व्यक्तिगत २२ रनमा पेभिलियन फर्के । किशोर महतो १ रनमा नटआउट रहेको खेलमा पोखरा १७ दशमलव ५ ओभर मात्र क्रिजमा टिक्यो ।

चितवनका कमल ऐरीले ४ विकेट लिए । १ सय १२ रनको लक्ष्य पछ्याएको चितवनको शुरुवात राम्रो भएन। ओपनर हासिम र उनीपछि ब्याटिङ्गमा आएका करिम जन्नतले खाता नै खोल्न सकेनन्।अर्का ओपनर मोहमद साहजाद ११ रनमा आउट भए।

२० रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको चितवनका लागि भीम सार्की र दिलिप नाथले जितसम्म पुर्‍याए। उनीहरुले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरे ।

दिलिप १८ तथा सार्की ६३ रनमा आउट भए । राजेश पुलामीले १४ रन बनाए। कप्तान सोमपाल कामी ४ तथा सेकुगे प्रसन्ना १ रनमा नट आउट रहेपछि चितवनले खेल सकिन २५ बल बाँकी छँदै लक्ष्य भेट्यो ।

जितसँगै चितवनले ५० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ । उपविजेता पोखराले १५ लाख प्राप्त गर्‍यो ।

व्यक्तिगत अवार्डमा पनि चितवनकै वर्चस्व रह्यो । चितवनका सागर ढकाल म्यान अफ दि सिरिज भए।

प्रतियोगितामा १४ विकेट लिएका सागरले पल्सर मोटरसाइकल प्राप्त गरे। इमर्जिङ प्लेअर अफ दि टुर्नामेन्ट भीम सार्की भए। उनले लिगमा १ सय ९६ रन बनाएका थिए। दुई अर्ध शतक बनाएका उनी सर्वाधिक रन बनाउने दोश्रो खेलाडी हुन्।

चितवनकै मोहमद सहाजादले प्रतियोगिता भर सबैभन्दा धेरै २ सय ७ रन बनाए। डेयर टु ड्रिम अवार्ड चितवन टाइगर्सका कमल सिंह ऐरीले पाए । उनले कुल १२ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्