ईपीएलको उपाधिका लागि पोखरा र चितवन भिड्दै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

२३ असोज २०७८ काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै छन् ।
त्रिवि क्रिकेट मैदानमा सवा १२ बजे हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो ।
चितवनका कप्तान सोमपाल कामीले फाइनलमा आफ्नो टिमले जित प्रमाणित गर्नेमा विश्वस्त रहेको बताएका छन् । पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।
तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियटर्सलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो । पोखराका कप्तान विनोदले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने बताएका छन् ।
यसै संस्करणको अघिल्ला दुई भेटमा चितवनले पोखरालाई हराएको थियो । लीग चरण र क्वालिफायरमा चितवनले समान ९ विकेटको जित निकालेको थियो ।
चितवन उक्त जितलाई कायम राख्न चाहन्छ । तर, पोखरा भने फाइनलमा दुई हारको बदला लिन चाहन्छ । यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।
प्रतिक्रिया