खेलकूद

ईपीएलमा पोखरालाई हराउँदै चितवन फाइनल प्रवेश (दोस्रो खेलको लाइभसहित)

हिमालय टिभी
२०७८ असोज २० गते १३:४२
ईपीएलमा पोखरालाई हराउँदै चितवन फाइनल प्रवेश (दोस्रो खेलको लाइभसहित)

२० असोज २०७८ काठमाडौं । एभेष्ट प्रिमियर लीग (ईपीएल)को पहिलो क्वालिफायर्समा पोखरा राइनोजलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै चितवन टाइगर्स पहिलो पटक फाइनल पुगेको छ ।

टस गुमाएर पहिले ब्याटिङको निम्तो पाएको पोखरा १५ ओभरमा मात्र ६६ रन बनाउँदै अलआउट भयो । ओपनर रिचर्ड लेभी र सुनिल धमलाले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । तर पाँचौं ओभरको अन्तिम बलमा १९ रन बनाएका लेभी चितवनका कप्तान सोमपाल कामीबाट बोल्ड आउट भए ।

व्यक्तिगत १८ रन बनाएर खेलिरहेका सुनिल धमला पनि आठौं ओभरमा सागर ढकालको बलमा बोल्ड भए । त्यसपछि आएका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा तल्लो क्रमका सुशन भारीले १२ रन बनाए ।

पोखराको ब्याटिङ धरासयी बनाउने क्रममा चितवनका सागर ढकाल र म्यान अफ द म्याच बनेका शाहब आलमले ४–४ विकेट लिए । त्यस्तै सोमपाल कामी र करिम जन्नतको नाममा १–१ विकेट रह्यो ।

६७ रनको झिनो लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेट गुमाएर भेट्टायो । बलिङमा जस्तै ब्याटिङमा पनि चितवनले शान्दार प्रदर्शन गर्‍यो ।

ओपनर जोडी मोहमद शाहजाद र हासिम अन्सारीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्‍याए । आठौं ओभरको पहिलो बलमा शाहजाद ४८ रन बनाएर आउट भए ।

२६ बलमा ७ चौका र २ छक्का हिर्काएका शाहजाद नन्दन यादवको बलमा कट एण्ड बोल्ड भए । पहिलो पटक ईपीएल खेल्दै गरेका हासिम अन्सारी २० बलमा १ चौका र १ छक्कासहित नटआउट १४ रन बनाउँदा करिम जन्नतले नटआउट ४ रन जोडे ।

सातौं ओभरको पाँचौं बलमा पहिलो बल खेलेका करिमले त्यसमा नन्दन यादवलाई चौका प्रहार गर्दै टोलीलाई पहिलो पटक उपाधि नजिक पुर्‍याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्