खेलकूद

ईपीएलमा प्लेअफ समीकरण पूरा

हिमालय टिभी
२०७८ असोज १९ गते १८:५७
ईपीएलमा प्लेअफ समीकरण पूरा

१९ असोज २०७८ काठमाडौं । काठमाडौंमा जारी चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल)को प्लेअफ समीकरण पूरा भएको छ ।

लीग चरणको अन्तिम खेलमा आज काठमाडौं किङ्स इलाभेन र भैरहवा ग्ल्याडियटर्सले १–१ अंक बाँडेसँगै ईपीएलको प्लेअफ र एलिमिनेटर खेल्ने टोलीको टुङ्गो लागेको हो । हिजोको वर्षाका कारण खेल मैदान ओसिलो भएपछि खेलाउन नसकिने भएपछि काठमाडौं र भैरहवाले अंक बाँडेका हुन् ।

मंगलबार बिहान साढे ९ बजेका लागि तय भएको खेल अघिल्लो दिनको वर्षाका कारण त्रिवि क्रिकेट मैदान ओसिलो भएका कारण खेलाउन योग्य नभएपछि दुवै टोलीले १–१ अंक बाँडेका हुन् ।

यो खेल गत शनिबारनै हुने तालिका थियो । तर शनिबार पनि मैदानको आउटफिल्ड नसुकेपछि यो खेल मंगलबारका लागि सारिएको थियो । अंक बाँडेसँगै काठमाडौं ३ अंकसहित तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।

समान ३ अंकनै जोडेको ललितपुर प्याट्रियट्स नेट रन रेटमा पछि पर्दै प्लेअफमा पुग्नबाट बञ्चित भएको हो । साविक विजेता ललितपुर र विराटनगर वारियर्स् प्रतियोगिताबाट बाहिरिँदा चितवन टाइगर्स्, भैरहवा, पोखरा राइनोज र काठमाडौंले प्लेअफमा स्थान बनाएका छन् । ५ खेलबाट चितवन ८ अंकसहित तालिकाको शीर्षस्थानमा छ । समान खेलबाट पोखरा ७ अंकसहित दोस्रो स्थानमा रहँदा समान अंक जोडेको भैरहवा रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ ।

चार खेलसम्म रहेको चितवनले पहिलो खेलमा भैरहवालाई २ विकेटले, दोस्रो खेलमा काठमाडौंलाई ३ विकेटले, तेस्रोमा पोखरालाई ९ विकेट र चौंथो खेलमा ललितपुरलाई ५ विकेटले हराउँदा लीग चरणको अन्तिम खेलमा भैरहवा ग्लाडियटर्ससँग ६ विकेटले हारेको थियो । दोस्रो स्थानको भैरहवाले पहिलो खेलमा पोखरासँग अंक बाँडेको थियो ।

पोखराको ब्याटिङ धरासयी बनाउँदै ११ औं ओभरको पहिलो बलमा पोखरा ७ विकेटको क्षतिमा ६५ रन बनाएको अवस्थामा पानी परेपछि भैरहवा अंक बाँड्न बाध्य भएको हो । दोस्रो खेलमा विराटनगर वारियर्सलाई ६ विकेटले हराउँदा तेस्रो खेलमा ललितपुरसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।

अन्तिम बलमा जितका लागि ७ रन चाहिएको अवस्थामा भैरहवाका कप्तान शरद भेषावकरले छक्का प्रहार गदै खेल बराबरी गरेका थिए । चौंथो खेलमा चितवनलाई ६ विकेटले हराउँदा लीगको अन्तिम खेलमा पुनः खराब मैदानका अंक बाँड्न पर्‍यो ।

तेस्रो स्थानको पोखरा भने पहिलो खेलमा भाग्यमानी सावित भयो । भैरहवासँग हारको संघारमा रहेको खेलमा वर्षा बाधक बन्दा पोखराले हातबाट फुत्किसकेको १ अंक पायो । दोस्रो खेलमा ललितपुरलाई ९ विकेटले हराउँदा तेस्रो खेलमा चितवनसँग ९ विकेटलेनै हार्‍यो । चौंथो खेलमा विराटनगरलाई ७ विकेट र आफ्नो अन्तिम खेलमा काठमाडौंलाई डकवर्थ लेविसका आधारमा १४ रनले हराउँदै ७ अंक जोड्यो ।

यता काठमाडौंले उद्घाटन खेलमा ललितपुरलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गर्दा दोस्रोमा चितवनसँग पराजित भयो । तेस्रो खेल विराटनगरसँग हारेको काठमाडौं चौंथोमा पोखरासँग पराजित भयो । वर्षाका कारण सबैभन्दा बढी मारमा परेको काठमाडौं अन्तिम खेलमा फेरी भैरहवासँग अंक बाँड्यो ।

यस पटक विश्व चर्चित पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी नेपाल ल्याएर चर्चा बटुले पनि उनले १ खेल मात्र खेल्दा समर्थक निराश भए । दुइृ खेलका लागि नेपाल आएका उनले वर्षाले खेल रोकिए पनि दोस्रो खेल खेल्न पाएनन् ।

ब्याटिङमा विदेशी खेलाडीले सनसनी मच्चाउँदा बलिङमा भने नेपाली खेलाडी अब्बल देखिए । ललितपुरका सान्दुन विराक्कोडी १६६ रन सहित सर्वाधिक रन बनाउने खेलको सूचीमा छन् । यो सूचीमा नेपाली ब्याटर भिम सार्की १३३ रनसहित पाँचौं स्थानमा छन् । बलिङमा ९ विकेट लिएका चितवनका सागर ढकाल शीर्षस्थानमा छन् ।
प्रतियोगितामा ललितपुरले विराटनगरविरुद्ध ईपीएल इतिहासकै सर्वाधिक २२६ रन बनायो ।

अब बुधबार हुने पहिलो क्वालिफायर्समा चितवन र पोखराबीच प्रतिस्पर्धा हुनेछ । यो खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर्स खेल्नु पर्ने हुन्छ । बुधबारनै एलिमिनेटरमा भैरहवा र काठमाडौंबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्