खेलकूद

लगातार दुई खेल जित्दै साफ फुटबलको उपाधिमा नेपालको दावेदारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १९ गते १८:४७
लगातार दुई खेल जित्दै साफ फुटबलको उपाधिमा नेपालको दावेदारी (भिडियो रिपोर्टसहित)

१९ असोज २०७८ काठमाडौं । पहिलो उपाधि जित्ने लक्ष्यसहित साफ च्याम्पियनसिप फुटबल खेल्न माल्दिभ्स गएको नेपाली राष्ट्रिय फुटबल टोलीले आफ्ना सुरुवाती दुवै खेल जितेको छ ।

२ खेलबाट ६ अंक जोडेसँगै तालिकाको शीर्षस्थानमा उक्लिएको नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । नेपाली टोलीको सुधारिएको पछिल्लो प्रदर्शनका आधारमा टोलीबाट धेरै अपेक्षा छ । यस्तोमा अब नेपालले बलियो प्रतिद्वन्द्वी भारत र बंगलादेशसँग खेल्न बाँकी छ ।

माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले लगतार दुई खेल जित्दै फाइनलमा दावेदारी प्रस्तुत गरेको छ । पहिलो खेलमा घरेलु टोली तथा साविक विजेता माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले हरायो ।

६ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको नेपालले बाँकी दुई खेल मध्ये एक खेल मात्र जिते पनि फाइनल पुग्ने छ । युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीको पछिल्लो प्रदर्शनबाट समर्थकले निकै आशा राखेका छन् ।

विश्वकप तथा एसिया कप छनोटदेखिनै खेलाडीहरु बन्द प्रशिक्षणमा एक साथ खेल्दै आएका छन् । यसले खेलाडीबीचको तालमेलमा सुधार देखिएको छ भने बेन्च पनि बलियो देखिएको छ । साफ च्याम्पियनसिपकै अघिल्लो दुई खेलबाट पनि यो स्पष्ट भएको छ ।

किन दुई खेल जिताउन वैकल्पिक खेलाडीको भूमिका निकै महत्वपूर्ण रह्यो । पहिलो खेलमा माल्दिभ्सविरुद्ध एक मात्र गोल वैकल्पिक खेलाडीका रुपमा आएका मनिष डाँगीले गरेका थिए भने श्रीलंकाविरुद्धको खेलमा आयुष घलानले एक गोल सहित राम्रा अबसरहरु सिर्जना गरे ।

गोलकिपर तथा कप्तान किरण चेम्जोङ र डिफेन्डर रोहित चन्दको अनुभव र अधिकांश युवा खेलाडीको साथमा टोलीले पछिल्लो समय धेरै सम्भावनाहरु देखाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीमा व्यापक हेरफेर गर्दै सुरुवातदेखिनै आक्रामक फुटबल खेल्न प्रेरित गरिरहेका छन् ।

खेलाडीहरुमा उनको रणनीति र प्रशिक्षण शैलीले सकरात्मक प्रभाव देखिएको छ । साफलाईनै लक्षित गर्दै तयारी गरिरहेका प्रशिक्षक अलमुताईरीको लागि यो ठूलो परिक्षा हो । किनकी उनले चैतमा राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै आफ्नो मुख्य उद्देश्यनै साफ च्याम्पियनसिप जित्नु रहेको बताएका थिए ।

यसलाई उनले सुरुवाती खेलमा सिद्ध गरिसकेका छन् । उनको आगमनसँगै नेपालले यस वर्षमात्र ९ अन्तराष्ट्रिय खेल खेलिसकेको छ । जसमा नेपालले ३ जित, ५ हार र १ बराबरी खेलेको छ । पछिल्लो ५ खेलको नतिजामा पनि नेपालले सबै खेलमा गोल गरिरहेको छ जुन टोलीको सुधारीको प्रदर्शनका रुपमा लिन सकिन्छ ।

नेपालको परम्परागत कमजोरीको रुपमा रहेको फिनिसिङमा सुधार भइरहेको छ । टोलीको मेरुद्दण्डका रुपमा रहेको मिडफिल्डमा बल पोजिसन कायम राख्न खेलाडी सफल छन् । अग्रपंतिमा बल सप्लाइमा सुधार देखिँदा बल होल्ड गर्दै खेल्न आवश्यक देखिन्छ ।

प्रशिक्षक अलमुताईरीको अठोट र युवा खेलाडीको उत्साहको मिश्रणले माल्दिभ्समा नेपाल अघि बढिरहेको छ। दाबेदारका रुपमा रहे पनि साफको फाइनलसम्म पुग्न नसकेको तितो यर्थाथ झुलाउन यस पटक नेपाललाई राम्रो मौका छ ।

पाँच टोलीको सहभागीता रहेको प्रतियोगिको शीर्ष दुई टोली फाइनलमा खेल्ने छन् । यसमा नेपालको सम्भावना अन्यको तुलनामा बलियो देखिएको छ । अब नेपालले आइतबार बलियो प्रतिद्धन्दी भारत र २७ गते बंगलादेशसँग खेल्न बाँकी छ ।

तालिकामा नेपाल शीर्षस्थानमा रहँदा २ खेलबाट ४ अंक जोडेको बंगलादेश दोस्रो र १ अंक जोडेको भारत तेस्रो स्थानमा छ । भारत पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । यता बंगलादेशले पनि आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० गोलले हराएको थियो । अंकविहीन माल्दिभ्स र श्रीलंका क्रमश चौंथो र पाँचौं स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्