आर्थिक

सरकार बनेको तीन महिना बित्नलाग्दा पनि लुम्बिनी प्रदेश सरकार बजेटविहीन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १९ गते १७:२०
सरकार बनेको तीन महिना बित्नलाग्दा पनि लुम्बिनी प्रदेश सरकार बजेटविहीन (भिडियो रिपोर्टसहित)

१९ असोज २०७८ बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८–७९ को लागि अझै बजेट ल्याउन सकेको छैन । शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट गठबन्धनको सरकारले खारेज गर्दै अर्को बजेट ल्याउने तयारीमा छ । तर चालु आर्थिक वर्षको ३ महिना बित्नलाग्दा समेत प्रदेश सरकार बजेटविहीन जस्तै बनेको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा करिब १५ प्रतिशत पूँजीगत बजेट खर्च हुनुपर्थ्यो । भौतिक पुर्वाधार तर्फ सरकारले ल्याएका नयाँ योजनाको टेण्डर गरेर ठेक्का प्रक्रिया पूरा भइसक्नु पर्ने थियो । तर लुम्बिनी प्रदेशमा ४ दलीय गठबन्धनको सरकार बनेपछि ३ महिनायता सरकार बजेटविहीन जस्तै बनेको छ ।

नयाँ सरकारले बजेट ल्याउन नसक्दा करारका कर्मचारीले तलब पाउन सकेका छैनन् । बजेटमार्फत आएका नयाँ योजना कार्यान्वयनको चरणमा पुग्ने बेला, नयाँ योजना के आउँछ भन्नेमा प्रदेशका कर्मचारी अन्योलमा छन ।

शंकर पोखरेल नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०७८– ०७९ को नीति कार्यक्रम सदनबाटै पारित भयो । तर त्यसपछि सदन अवरोध भएपछि साउन १ गते अध्यादेशमार्फत बजेट ल्याएको थियो । तर, साउन २७ गते कुलप्रसाद केसीको नेतृत्वमा गठबन्धनको सरकार बनेपछि नीति कार्यक्रम र बजेट खारेज गरी नयाँ बजेट बनाउन थाल्यो ।

तर आर्थिक वर्षको ३ महिना वित्न लाग्दासमेत अझै नीति कार्यक्रम र बजेट गठबन्धनको सरकारले ल्याउन सकेको छैन । यसले गर्दा प्रदेशका कर्मचारी कामविहीन भएका छन् । विकास निर्माणका काम प्रभावित हुन पुगेको छ । गठबन्धनको सरकारले विकास विरोधी चरित्र देखाएको प्रतिपक्ष दलको आरोप ।

गठबन्धनको सरकारमा सहभागी ४ दल र स्वतन्त्र सांसदका चुनावी घोषणापत्र र दलीय भावना समेटेर न्यूनतम साझा नीति कार्यक्रम र बजेट ल्याउने गृहकार्य शुरु गरेको थियो । तर, असोज महिना सकिदासम्म नीति कार्यक्रम र बजेटको टुंगो लागेको छैन ।

प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर प्रदेश सभा अवरोध गरेपछि सरकारलाई अहिले कसरी नीति कार्यक्रम र बजेट ल्याउने भन्ने टाउको दुखाइ बनेको छ । प्रदेश सरकारले दशैं अघि नै बजेट ल्याउने तयारी गरेको दाबी छ ।

बजेट कार्यान्वयनको चरणमा पुगेर खर्च हुने बेला प्रतिपक्ष र सत्तापक्षको टकराबका कारण यति बेला लुम्बिनी सरकार बजेटविहीन बनेको छ । यसको प्रत्यक्ष असर प्रदेशको विकासदेखि सरकारले ल्याउने योजनाहरु समय मै पूरा नहुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *