खेलकूद

ईपीएल क्रिकेटमा आजको खेल रद्द, काठमाडौं र भैरहवाले अंक बाँडे

हिमालय टिभी
२०७८ असोज १९ गते १३:१०
ईपीएल क्रिकेटमा आजको खेल रद्द, काठमाडौं र भैरहवाले अंक बाँडे

१९ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग ईपीएल क्रिकेटमा काठमाडौं किङ्स इलाभेन र भैरहवा ग्ल्याडियटर्सबीचको लीग चरणको अन्तिम खेल रद्द भएको छ ।

आज बिहान साढे ९ बजेका लागि तय भएको खेल हिजोको वर्षाका कारण त्रिवि क्रिकेट मैदान हिलो भएकाले खेलाउन योग्य नभएपछि दुवै टोलीले १–१ अंक बाँडेका हुन् ।

यो खेल गत शनिबारनै हुने तालिका थियो । तर शनिबार पनि मैदानको आउटफिल्ड नसुकेपछि आजका लागि सारिएको थियो । अंक बाँडेसँगै काठमाडौं ३ अंकसहित तालिकाको चौंथो स्थानमा उक्लिएको छ र प्ले अफमा पुगेको छ ।

समान ३ अंकनै जोडेको ललितपुर प्याट्रियट्स नेट रन रेटमा पछि पर्दै प्लेअफमा पुग्नबाट बञ्चित भएको छ । साविक विजेता ललितपुर र विराटनगर वारियर्स प्रतियोगिताबाट बाहिरिँदा चितवन टाइगर्स्, भैरहवा ग्लाडियटर्स, पोखरा राइनोज र काठमाडौं किंङ्स इलाभेनले प्लेअफमा स्थान बनाएका छन् ।

५ खेलबाट चितवन ८ अंकसहित तालिकाको शीर्षस्थानमा छ । समान खेलबाट पोखरा ७ अंकसहित दोस्रो स्थानमा रहँदा समान अंक जोडेको भैरहवा रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ ।

अब भोलि हुने पहिलो क्वालिफायर्समा चितवन र पोखराबीच प्रतिस्पर्धा हुनेछ । यो खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफार्यस् खेल्नु पर्ने हुन्छ ।

भोलिनै हुने दोस्रो एलिमिनेटरमा भैरहवा र काठमाडौंबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्