खेलकूद

वर्षाले खेल प्रभावित भएपछि ईपीएलको दोस्रो खेलमा पोखरा १४ रनले विजयी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १८ गते १८:१५
वर्षाले खेल प्रभावित भएपछि ईपीएलको दोस्रो खेलमा पोखरा १४ रनले विजयी (भिडियो रिपोर्टसहित)

१८ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल)मा आजको दोस्रो खेलमा वर्षा बाधक बनेपछि पोखरा राइनोज १४ रनले विजयी भएको छ ।

प्लेअफमा स्थान बनाउन काठमाडौं किङ्स इलाभेनलाई जित्नैपर्ने खेलको १५ ओभरमा भारी वर्षा भएपछि डकवर्थ लेविस नियमका आधारमा पोखराले बाजी मारेको हो ।

काठमाडौंले दिएको १८३ रनको विजयी लक्ष्य पछ्याएको पोखराको शुरुवात राम्रो हुन सकेन् । दोस्रो ओभरमा १३ रन बनाउँदा ओपनर रित गौतम व्यक्तिगत २ रनमै आउट भए ।

लगातार विकेट पतन भएपछि एक समय ४ विकेटको क्षतिमा पोखराको बोर्डमा ३६ रन मात्र थियो । तर श्रीलंकी ब्याटर असान अर्चाचिगे र युवा ब्याटर विवेक यादवले ७७ रनको साझेदारी गरेपछि पोखरा जित उन्मुख बन्यो । अर्चाचिगे १३ ओभरमा सन्दीप लामिछानेको बलमा अमित श्रेष्ठबाट क्याच आउट भए ।

रोमान्चक खेलको १५ ओभरमा मैदानमा वर्षा भएपछि खेल रोकियो । भारी वर्षा तत्काल नरोकिएपछि अम्पायरले डकवर्थ लेविस पद्धतिका आधारमा विजेताको छिनोफानो गर्दा पोखरा १४ रनले अगाडी रहँदै जित्न सफल भयो । खेलमा काठमाडौंका जितेन्द्र मुखिया र गुल्शन झाले २–२ विकेट लिए भने सन्दीपले १ विकेट लिए ।

यसअघि टस गुमाएर पहिले ब्याटिङका लागि बोलाइएको काठमाडौंले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १८२ रन बनायो । तेस्रो ओभरको पहिलो बलमा २ विकेट गुमाउँदा १६ रन मात्र बनाएको काठमाडौंका लागि अमित श्रेष्ठ र रायन वर्लले तेस्रो विकेटका लागि १ सय ६ रनको साझेदारी गरे ।

यसक्रममा दुवैले अर्धशतकीय पाली खेले । तल्लो क्रमका ब्याटर चल्न नसक्दा सन्दीप लामिछानेले विष्फोटक ब्याटिङ गर्दै कप्तानी पाली खेले । ११ बलमा २ चौका र ३ छक्का हिर्काएका सन्दीप अन्तिम ओभरको तेस्रो बलमा ३१ रन बनाएर आउट भए । बलिङमा विवेक यादवले ३ विकेट लिए ।

यसअघि आजैको पहिलो खेलमा चितवन टाइगर्सको अपराजित यात्रा लीग चरणको अन्तिम खेलमा पूर्णविराम लागेको थियो ।

आफ्नो पाँचौं खेलमा चितवन भैरहवा ग्लाडिटर्ससँग ६ विकेटले पराजित भएको हो । चितवनले दिएको १ सय ६५ रनको मध्यम लक्ष्य भैरहवाले १७ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

भैरहवाका ओपनर जोडी तमिम इकवाल र प्रदिप सिंह ऐरीले पहिलो विकेटका लागि १ सय ६ रनको शतकीय साझेदारी गरेसँगै टोलीलाई जित नजिक पुर्‍याए । तमिम इकवाल ४० रन बनाएर आउट हुँदा प्रदिपले ७२ रनको अर्धशतकीय पाली खेले ।

त्यस्तै उपुल थरंगाले नटआउट ३९ रनको योगदान दिए । बलिङमा चितवनका करिम जन्नतले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ६४ रन बनायो ।

उसका ओपनर मोहमद शाहजादले ३२ रन बनाउँदा करिम जन्नतले ३५ रनको योगदान दिए । बलिङमा अभिनाश बोहोराले ३ तथा कुशल मल्लले २ विकेट लिए ।

जितसँगै पोखरा ७ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित काठमाडौंका लागि भने अब लीग चरणको अन्तिम खेलमा भैरहवाविरुद्ध जित्नै पर्ने दबावमा छ ।

८ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको चितवन क्वालिफायरमा पुगिसकेको छ भने भैरहवाको ६ अंक छ । लीग चरणको अन्तिम खेल बाँकी रहँदासम्म चितवन, पोखरा र भैरहवाले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् । ब्युरो रिपोर्ट हिमालय टेलिभिजन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्