आर्थिक

साहस ऊर्जाको आइपिओ बाँडफाँट

हिमालय टिभी
२०७८ असोज १७ गते १६:०४
साहस ऊर्जाको आइपिओ बाँडफाँट

१७ असोज २०७८ काठमाडौं । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।

कम्पनीको आइपिओमा कूल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएको र बाँकी २३ लाख ८३ हजार ४६० योग्य आवेदकमध्ये छ लाख ४४ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणलाई गत असोज ६ देखि १० गतेसम्म प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो । निष्कासन गरिएको ७० लाख कित्ता शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको थियो । तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।

कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ्गदूधकोशी गाउँपालिकामा कूल ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *