राजनीति

नेकपा एमालेको विधान महाधिवेशन : के भन्छन् प्रतिनिधिहरु ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १६ गते २०:३६
नेकपा एमालेको विधान महाधिवेशन : के भन्छन् प्रतिनिधिहरु ? (भिडियो रिपोर्टसहित)

१६ असोज २०७८ ललितपुर । नेकपा एमालेले विधान महाधिवेशनलाई केपी शर्मा ओलीमय बनाउने प्रयास गरिरहेका बेला प्रतिनिधिहरुले भने व्यक्ति नभई पार्टी र पार्टीको नीतिलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा भएको समूहगत छलफलको निष्कर्ष सुनाउँदै टोली नेताहरुले पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि पोखेका छन् । प्रदेश १ को समूहका टोली नेता भानुभक्त ढकालले व्यक्ति नभई पार्टी र नीति स्थापित गर्नु पर्ने आफ्नो समूहको निष्कर्ष सुनाउनुभयो ।

बाग्मती प्रदेशका टोली नेता आनन्द पोखरेलले पनि व्यक्तिलाई ब्राण्डिङ गर्ने कि नगर्ने भन्नेमा मत बाझिएको बताउनुभयो । सरकार र पार्टीको सम्बन्ध प्रष्ट पार्नुपर्ने भन्दै उहाँले नजिक हुनेहरुले मात्र अवसर पाएकाले विधि बनाउनुपर्नेमा जोड दिनुभयो ।

समूहगत छलफलमा नेताहरुले उपाध्यक्षको संख्या अझ बढाउनुपर्ने, उपहासचिव पद कायमै राख्नुपर्नेमा जोड दिएका छन् । विधान संशोधन प्रस्तावमा पाँच उपाध्यक्ष प्रस्ताव गरिएको छ भने उपमहासचिव पद खारेज गर्ने प्रस्ताव छ ।

लुम्बिनी प्रदेशका टोली नेता लीला गिरीले वरिष्ठसहित ७ उपाध्यक्ष बनाउनुपर्ने र प्रदेश १ का टोली नेता ढकालले वरिष्ठसहित ६ उपाध्यक्ष हुनुपर्ने र एक उपमहासचिव राख्नुपर्ने समूहको निष्कर्ष सुनाउनुभयो ।

ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूहमा छलफल भएको छ ।

सात प्रदेशका ७ समूह, उपत्यका विशेष कमिटी, सम्पर्क कमिटी र प्रवाससमूह, जनसंगठन समूह तथा केन्द्रीय निकाय र आयोगको समूह मध्येबाट आज ५ वटा टोलीका नेताले निष्कर्ष सुनाएका छ । बाँकी ५ वटा समूहको निष्कर्षका लागि भोलि बिहान ८ बजे फेरि बैठक शुरु गर्ने तयारी छ ।

एमालेले पहिलो पटक पार्टीको नीति र विधि निर्माणका लागि छुट्टै विधान महाधिवेशनको आयोजना गरेको हो । भोली प्रस्तुत प्रतिवेदनहरुमाथि प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिएपछि महाधिवेशन सकिने छ। अहिले विधान महाधिवेशन गरेको एमालेले नेतृत्व चयनका लागि १० औं राष्ट्रिय महाधिवेशन मंसीर दोस्रो साता हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्