खेलकूद

एक खेल बाँकी छँदै ईपीएलबाट बाहिरियो विराटनगर, पोखरासँग सात विकेटले पराजित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १६ गते १७:३४
एक खेल बाँकी छँदै ईपीएलबाट बाहिरियो विराटनगर, पोखरासँग सात विकेटले पराजित (भिडियो रिपोर्टसहित)

१६ असोज २०७८ काठमाडौं । विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटको समूह चरणबाट बाहिरिएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर एक खेल बाँकी छँदै घर फर्कने निश्चित भएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखरा राइनोजविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर वारियर्सले शुरुमै झड्का बेहोर्‍यो । टिमका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका वेष्ट इन्डिजका चन्द्रपउल हेमराज २ रनमा आउट भए । तर त्यसपछिका ब्याट्सम्यानले विराटनगरको पाली सम्हाले ।

ओपनर आसिफ सेखलाई साथ दिन आएका श्रीलंकन दिल्सन मुनावेराले दोश्रो विकेटका लागि ४५ रनको साझेदारी गरे । मुनावेरा १६ रनमा आउट भए ।

यस्तै आसिफ ३३ बलमा ६ चौकासहित ४४ रन बनाउँदै पभेलियन फर्के । अनिल साह १२ र सिकन्दर राजा २९ रनमा आउट भए ।

सन्दीप रजालीले २८ र कप्तान करन केसी २४ रनमा नट आउट भएको खेलमा उसले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

पोखराका विक्रम सोबले २ विकेट लिए । १ सय ७३ रनको लक्ष्य पछ्याएको पोखराको पनि शुरुवात राम्रो भएन । ओपनर रित गौतम ५ रन बनाउँदै पभेलियन फर्के पनि पोखराका अरु ब्याट्सम्यानले टिमलाई जितसम्म पुर्‍याए ।

ओपनर रिचर्ड लेभी ४७ रनमा आउट भए । २६ बल खेलेका उनले ४ चौका र ३ छक्का हाने । सहन आराचिजले ४३ रन बनाए । असले गुनरत्ने ५० तथा कप्तान विनोद भण्डारी १५ रनमा नट आउट रहे ।

२४ बल खेलेका गुनरत्नेले ४ चौका र ३ छक्का हानेपछि पोखराले खेल सकिन १४ बल बाँकी छँदै लक्ष्य भेट्टायो । यो जितले पोखरा ५ अंकसहित तालिकाको दोश्रो स्थानमा उक्लिएको छ ।

पराजित विराटनगर पुछारमा छ र उसको एक खेल बाँकी भए पनि अघिल्लो चरण पुग्ने संभावना सकिएको छ । भैरहवा ग्लाडियटर्स र काठमाडौं किङ्स इलभेनबीचको खेल भने मैदान हिलो भएका कारण शुरु हुन सकेन । यो खेलपछि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्