खेलकूद

साफ च्याम्पियनसिप फूटबलमा माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

हिमालय टिभी
२०७८ असोज १६ गते ७:३८
साफ च्याम्पियनसिप फूटबलमा माल्दिभ्सविरुद्ध नेपालको ऐतिहासिक जित

१६ असोज २०७८ काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले ऐतिहासिक जित दर्ता गरेको छ ।

माल्दिभ्सको राजधानी मालेमा जारी १३ औं संस्करणको खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।

मालेको राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

काउन्टर अट्याकमा घरेलु टोलीका तीन डिफेन्डरलाई बिट गर्दै मनिषले उत्कृष्ट गोल गरे । नेपालका लागि उनको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । मनिष खेलको ८० औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । नेपालविरुद्धको खेलमा अधिकांश समय पकड जमाए पनि माल्दिभ्सले गोल गर्न सकेन ।

माल्दिभ्सका केही उत्कृष्ट प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाएका थिए । जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा व्यहोरेको हारको बदलासमेत लिएको छ । ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३(० ले पराजित भएको थियो ।

नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो । नेपालले पछिल्लो पटक सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई २–१ ले हराएको थियो । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार प्रतिस्पर्धा गर्नेछ ।

नेपालले तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्नेछ। यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता छ ।

लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्