खेलकूद

ईपीएलमा आज ललितपुर र चितवन विजयी, चितवनको प्लेअफमा स्थान पक्का (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १५ गते १८:५५
ईपीएलमा आज ललितपुर र चितवन विजयी, चितवनको प्लेअफमा स्थान पक्का (भिडियो रिपोर्टसहित)

१५ असोज २०७८ काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल)मा पोखरा राइनोजलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै चितवन टाइगर्सले शतप्रतिशत जित कायम राख्दै प्लेअफमा स्थान पक्का गरेको छ ।

शतप्रतिशत जितसहित चितवन ६ अंकसहित तालिकाको शीर्षस्थानमा छ । पराजित पोखराको ३ अंक छ । आजै भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई ३७ रनले हराउँदै ललितपुर प्याट्रियट्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पोखरासँग अंक बराबरी भएपनि नेट रनरेटका आधारमा उ एक स्थान माथि छ ।

पहिलो खेलमा विराटनगर वारियर्सका कप्तान करन केसीले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिला ब्याटिङ्ग गरेको ललितपुर प्याट्रियट्सले २० ओभरमा ५ विकेट गुमाएर ईपिएल इतिहासकै सर्वाधिक २ सय २६ रन बनायो । ललितपुरको सुरुवात नै दमदार रह्यो ।

कप्तान कुशल भुर्तेल र श्रीलंकी खेलाडी सान्दुन विराक्कोडीले विष्फोटक ब्याटिङ गर्दै पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे । अघिल्ला खेलमा सस्तैमा आउट भएका कुशल पावर प्लेको अन्तिम बलमा ३२ रन बनाउँदै आउट भए । त्यसपछि आएका योगेन्द्र सिंह कार्कीले पनि विराक्कोडीलाई राम्रै साथ दिए ।

११ औं ओभरमा योगेन्द्र २७ रनमा आउट हुँदा पवन सर्राफ सस्तैमा आउट भए । ४३ बलमा १० चौका र ३ छक्काको मद्दतमा ७३ रन बनाएर खेलिरहेका विराक्कोडी १५ औं ओभरमा करन केसीको बलमा विकेट किपर आशिफ शेखबाट क्याच आउट भए ।

२८ बलमा अर्धशतक पुरा गरेका विराक्कोडीले यो संस्करणमा सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा काठमाडौं किङ्स इलाभेनका रायन वर्लसँग बराबरी गरेका छन् ।

ललितपुरका लागि मध्य क्रममा आएका अफगानी खेलाडी आजमतुल्लाह ओमरजाइले २१ बलमा अर्धशतक पुरा गरे । कुल २४ बल खेलेका उनी ५८ रनमा नटआउट रहे । १९ औं ओभरसम्म २ सय रन बनाएको ललितपुरले अन्तिम ओभरमा २६ रन बनायो । विराटनगरका रामनरेश गिरीलाई अन्तिम ओभरमा ओमरजाइले १ र नारायण जोशीले ६ छक्का प्रहार गरे । बलिङमा करन केसीले २ विकेट लिए ।

२ सय २७ रनको विशाल लक्ष्य पुछ्याउँदै जवाफि ब्याटिङगरेको विरानगरले पुरै ओभर खेल्दा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र जोड्न सक्यो । खेलमा विराटनगरको सुरुवात पनि आक्रमकनै रह्यो । पहिलो विकेटका लागि चन्द्रपाउल हेमराज र आसिफ शेखले चौंथो ओभरमा ५० रनको साझेदारी गरे ।

चन्द्रपउल १३ बलमा २८ रन बनाएर बोल्ड भए । त्यसपछि आसिफले दोस्रो विकेटका लागि दीलशान मुनाविरासँग मिलेर ५५ रनको अर्को राम्रो साझेदारी गर्दै टोलीलाई जित उन्मुख बनाए । तर ११ औं ओभरमा ३७ रन बनाएर आसिफ तथा सिकन्दर राजा २४ रन बनाएर पेभेलियन फर्किए । विरानगरको पाली सम्हालिरहेका मुनाविरा १६ औं ओभरमा ओमरजाईको बलमा योगेन्द्रबाट क्याच आउट भए ।

३९ बलमा ५ चौका र ४ छक्का हिर्काएका मुनाविराले ५९ रनको अर्धशतकीय पाली खेले । त्यहि ओभरमा ओमरजाईले करन केसी र सौरभ खनाललाई आउट गरेपछि ललितपुरले खेल नियन्त्रणमा राख्यो । तल्लो क्रमका ब्याटर क्रिजमा टिक्न नसक्दा विराटनगरले १ सय ८९ रन मात्र बनायो । बलिङमा प्लेयर अफ द म्याच बनेका ललितपुरका ओमरजाईले ४ विकेट लिए । त्यस्तै ललित राजवंशीले २ र योगेन्द्रले १ विकेट लिए ।

आजै भएको अर्को खेलमा चितवन टाईगर्स्ले पोखरा राईनोजलाई ९ विकेटको फराकिलो अन्तरले हरायो । टस जितेर ब्याटिङ गरेको पोखरा राईनोजले पुरै २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनायो । दोस्रो ओभरमा ओपनर रित गौतमलाई गुमाउँदा पोखराको ४ रन मात्र थियो ।

अर्का ओपनर रिर्चड लेभीले पाली सम्हाल्ने कोशिस गरिरहँदा अर्को एण्डबाट लगातार विकेट खसिरह्यो । लेभी २० रन बनाएर आउट भए । नवौं ओभरमा लाकेश बम आउट भएसँगै पोखराले ५ विकेट गुमाएर बोर्डमा ४२ रन मात्र जोड्न सकेको थियो ।

दयनीय अवस्थामा रहेको पोखराका लागि असेला गुणरत्नेले २५ रनको योगदान दिँदा युवा अलराउन्डर विवेक यादवले अर्धशकीय पाली खेले । ४५ बलको सामना गरेका विवेकले ३ चौंका र ३ छक्का सहित नटआउट ५३ रन बनाए । पोखराको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा चितवनका कमलसिंह ऐरी र शाहब आलमले २(२ विकेट लिए ।

१ सय २४ रनको सामान्य लक्ष्य चितवनले १६ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो । दोस्रो ओभरमै ईशान पाण्डेलाई बिना कुनै रन गुमाएको चितवनका लागि मोहमद शाहजाद र भिम सार्कीले १ सय २२ रनको साझेदारी गर्दै टोलीको जित पक्का गरे । खेलमा शाहजाद र भिम दुवैले नटआउट रहँदा अर्धशतकीय पाली खेले । ५२ बल खेलेका शाहजाद ६३ रनमा नटआउट रहँदा भिमले ४२ बलमा नटआउट ५४ रनको योगदान दिए ।

ललितपुर ३ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो हारसँगै विराटनगरको अघिल्लो चरणको सम्भावना कमजोर बनेको छ । शत प्रतिशत जित सहित चितवन ६ अंक सहित तालिकाको शीर्षस्थानमा छ ।

दुई खेल बाँकी रहँदा चितवनले प्लेअफमा स्थान सुरक्षित समेत गरेको छ । पराजित पोखराको ३ अंक नै भएपनि नेट रनरेटका आधरमा उ ललितपुर भन्दा एक स्थान तल झरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्