माओवादी अध्यक्ष प्रचण्डलाई किन आयो आत्महत्या गर्ने सोच ? (भिडियो रिपोर्टसहित)

१४ असोज २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले संसद विघटन गर्दा आफू चरम निराशामा पुगेको खुलासा गर्नु भएको छ ।
काठमाडौंमा आयोजित अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा प्रचण्डले तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका ओलीले संसद विघटन गर्दा भगत सिंहको फिल्मको पात्र चन्द्र शेखरले आत्महत्या रोजेजसरी आफू पनि त्यो विकल्प रोज्ने अवस्थामा पुगेको स्मरण गर्नुभयो ।
कार्यक्रममा प्रचण्डले पछिल्लो समय माओवादी नेताहरु बिग्रिन लागेको गुनासो गर्नुभयो । नेताहरु पद, प्रतिष्ठा, पैसा, कमिसनको निम्ती दलाल पूँजीपतिका हितहरूप्रति बढी संवेदनशील भएको र परिवर्तनको निम्ती त्याग गरेकालाई विस्मृतिमा पारिएको उहाँको भनाइ छ ।
प्रचण्डले तत्कालीन अवस्थामा माधवकुमार नेपालको समूहमा रहेका १० स्थायी कमिटी सदस्यहरूले आफूलाई एमाले विभाजन गराएको भनेर लगाएको आरोप सही नभएको बताउनु भयो ।
उहाँले तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट निस्कासन गर्न हस्ताक्षर गर्ने नेताहरूले आफूलाई गलत आरोप लगाएको दाबी गर्नुभयो ।
प्रतिक्रिया